जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • आफू केन्द्रित नभई समग्र देशको विकासबारे सोचेर काम गरौं- अध्यक्ष राई

    साकेला- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा साकेला गाउँपालिका स्थित महिला तथा बालबालिका शाखाको आयोजनामा सचेतना मूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

    लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रशिक्षण कार्यक्रम साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

    उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष राईले सबैको प्रयत्नले मात्र साकेला गाउँपालिकालाई परिवर्तन गर्न सकिने बताउनुभयो । नीति निर्माणको तहमा पुगेका व्यक्तिहरुले आफू केन्द्रित नभई समग्र देशको बारेमा चिन्तन गरेर काम गर्न सकेको भए देशको स्थिति मजबुत भईसक्थ्यो, राज्यको ठूला र महत्वपूर्ण ओहदामा बसेका व्यक्तिहरुले विकास र समृद्धिको बारेमा सोचेको भए नेपाल देश समृद्धिको गन्तव्यमा पुगिसकेको हुनेथियो । उहाँले भन्नुभयो हामी आफू केन्द्रित नभई समग्र पालिका र देशको बारेमा सोचेर काम गरिरहेका छौं ।

    साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउनका लागि गाउँपालिकाभित्रको जातजाती, सँस्कृति र इतिहाँस झल्किने खालको संरचना तयार गर्दै पर्यटकीयस्थल तावाभञ्ज्याङमा त्रिधार्मिक पार्क निर्माण गरि आन्तरिक र वाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य गाउँपालिकाको लिएको उहाँले बताउनुभयो । तावाभञ्ज्याङ क्षेत्रमा निर्माण गरिने पर्यटकीय क्षेत्रलाई लामो समयसम्म अवलोकन गर्न सकिने प्रकारको पर्यटकीयस्थल निर्माण गरिने पालिकाको योजना रहेको अध्यक्ष राईको भनाई छ ।

    साकेला गाउँपालिकाको अर्थतन्त्र माथि उठाउनका लागि पर्यटन पूर्वाधार बाट मात्र सम्भव हुने अध्यक्ष राईको भनाई छ । उहाँले भन्नुभयो- साकेला गाउँपालिकाले आग्रह गरिरहेका छौ, साकेलाको हरेक विकासमा तपाईहरुको साथ आवश्यक पर्छ, तपाईहरुले साथ र सहयोग प्रदान गर्नुहोस् अन्य पालिकाले गरेको भन्दा पृथक काम गरेर देखाउने प्रयत्न गर्नेछौं ।

    गाउँपालिकाका पाँच वटै वडाबाट उत्साहका साथ सहभागि महिला जनप्रतिनिधि, कर्मचारी, शिक्षिकाहरु, स्वास्थ्यकर्मी, स्वयमसेविका, आमा समूहका पदाधिकारीहरुको टोलीले प्रशिक्षण सुरु हुनुभन्दा अगाडि महिला हिंसा अन्त्यका लागि नारा जुलुस गर्दै साकेला बजार परिक्रमा गरेका थिए ।

    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा संविधानसभाका पूर्व सदस्य दुर्गाजयन्ती राईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्ग बहादुर राई, ५ नम्बर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जीवन खत्री, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा कानूनत दण्डनीय अपराध भएको र कोहि कसैले गर्न नहुने कुरामा जोड दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया