जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • साकेलामा पहिलो पटक सञ्चालन गरिएको अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापमा  सरस्वती मावि प्रथम

    साकेला- खोटाङको साकेला गाउँपालिकामा जिल्लाकै पहिलो पटक सञ्चालन गरिएको अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा सरस्वती माध्यमिक विद्यालय मात्तिम प्रथम भएको छ । विभिन्न ९ वटा विद्यामा सञ्चालन गरिएको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा अन्य विद्यालयहरुलाई पछि पार्दै सरस्वती मावि प्रथम भएको हो । उक्त मावि अध्ययनरत छात्रछात्राहरुले तीन स्वर्ण, दुई रजत र एक काँस्य गरि छ वटा विद्यामा अब्बल प्रतिस्पर्धा गरि विजय हाँसिल गरेसँगै प्रथम स्थान ओगट्न सफल बनेको हो ।

    त्यस्तै साकेला माध्यमिक विद्यालय रतन्छाले दुई स्वर्ण, दुई रजत र एक काँस्य गरि जम्मा पाँच पदक प्राप्त गरेर दोश्रो बन्न सफल भएको छ भने एक स्वर्ण, दुई रजत र एक काँस्य गरि सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमा तेश्रो भएको छ । पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थिलाई सहभागि गराई चौतर्फी ज्ञान हाँसिल गराउने उदेश्यका साथ साकेला गाउँपालिकाको शिक्षा शाखाले बुधबारदेखि प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको थियो ।

    विद्यार्थीहरुमा शैक्षिक चेतनाको विकासँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराई वाह्य ज्ञान हाँसिल गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । हरेक वर्ष सञ्चालन गरिँदै आएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भन्दा फरक ढँगबाट गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको छ –अध्यक्ष राईले भन्नुभयो, सम्भवत यसरी अतिरिक्त क्रियाकलाप गराउने पालिकामध्ये खोटाङ जिल्लामा साकेला गाउँपालिका पहिलो हो । आगामी दिनमा अझ व्यवस्थित तरिकाबाट विद्यालय स्तरीय अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै लगिनेछ उहाँको भनाई छ ।

    कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले साकेलाको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि हालसम्म तयार गरिएको शैक्षिक नीतिलाई कार्यान्वयनको पाटोमा लैजान सुरु गरिएको पनि बताउनु भएको छ । व्यवहारिक र वैज्ञानिक शिक्षाले मात्र विकास सम्भव हुने भन्दै उहाँले आफूले सिकेका ज्ञान र सीपको प्रयोग गर्न सके साकेलाको भावि सपना र उदेश्य पुरा हुने कुरामा आफू विश्वस्त भएको उल्लेख गर्नुभएको छ ।

    गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको विशेष आथित्यता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कक्षा ९-१२ बीच हाजिरी जवाफ, कक्षा ९-१२ बीच वकृत्वकला, कक्षा ६-८ बीच निवन्ध लेखन, कक्षा ६-८ बीच चित्रकला, कक्षा ४-५ बीच चित्रकला, कक्षा ४-५ बीच हिसाबदौड, कक्षा ६-8 बीचको म्युजिकल चेयर, कक्षा १-३ को बेलुन सेभ र कक्षा १-३ बीच भित्र-बाहिर खेलको प्रतिस्पर्धा गराएको थियो ।

    गाउँपालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि बनेको प्रतियोगिता अन्तर्गत हाजिरी जवाफमा सिद्देश्वरी माध्यमिक विद्यालय साकेला-३ खिदिमा प्रथम, साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय र बालबालिका मावि साकेला-४ मात्तिम तृतीय भएका छन् ।

    त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्बन्धि वकृत्वकला प्रतियोगितामा साकेला माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा भोजना फुयल प्रथम, सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमामा अध्यनरत छात्रा सुरक्षा तामाङ द्धितीय र राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडामा अध्ययनरत छात्रा करुणा बस्नेत तृतीय भएका छन् । उता, कक्षा ६-८ को निबन्ध लेखन प्रतियोगितामा सहभागि बनेका सरस्वती माध्यमिक विद्यालय मात्तिमका छात्र दिपेश रोकाय प्रथम, सिद्देश्वरी माध्यमिक विद्यालयका छात्रा रोजिना तामाङ द्धितीय र चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँमा अध्ययनरत छात्र दिप्सुहाङ राई तृतीय बन्न सफल भएका छन् ।

    त्यस्तै कक्षा ४-५ बीच सञ्चालन गरिएको हिसाब दौड प्रतियोगितामा प्रतिभा आधारभूत विद्यालय मात्तिम-५ मा अध्ययनरत छात्र हिमाल राई प्रथम, साल्मे आधारभूत विद्यालय रतन्छामा अध्ययनरत छात्र अदित राई द्धितीय र पञ्चकन्या आधारभूत विद्यालय मात्तिम-५ मा अध्ययनरत छात्रा किया राई तृतीय भएका छन् । कक्षा ४-५ को चित्र लेखन प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छामा अध्ययनरत छात्र आशिष लिम्वु प्रथम, सरस्वती माध्यमिक विद्यालय मात्तिममा अध्ययनरत छात्रा आरोशी रोकाय र साकेला माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा दिपिना राई तृतीय भएका छन् भने कक्षा ६-८ को चित्र लेखन प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय मात्तिममा अध्ययनरत छात्र निहाङ राई प्रथम, सोही माविमा अध्ययनरत छात्र आरोन यादव द्धितीय र बालबालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रिया तामाङ तृतीय बनेका छन् ।

    अतिरिक्त क्रियाकलाप अन्तर्गत नै कक्षा १-३ को भित्र बाहिर खेलमा साकेला आधारभूत विद्यालयका मनोज कटवाल प्रथम, पञ्चकन्या आधारभूत विद्यालय सुर्केमा अध्ययनरत छात्रा सोफिया खत्री र पञ्चकन्या आधारभूत विद्यालय मात्तिममा अध्ययनरत छात्रा मुना राई तृतीय भए भने कक्षा १-३ बीच सञ्चालन गरिएको बेलुन सेभ प्रतियोगितामा पञ्चकन्या आधारभूत विद्यालय सुर्केमा अध्ययनरत छात्र एकराज खत्री प्रथम, बालबालिका माविमा अध्ययनरत छात्र मिन कुमार चाहार दोश्रो र सरस्वती मावि मात्तिममा अध्ययनरत छात्र दिनेश राई तृतीय भए । कक्षा ६-८ बीच सञ्चालन गरिएको म्यूजिकल चेयर प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका सुजन वि.क. प्रथम, साकेला माध्यमिक विद्यालयका अभिषेक राई द्धितीय र सिद्देश्वरी माध्यमिक विद्यालय खिदिमाका छात्रा शान्तिकला राई तृतीय भए ।

    सबै विद्यामा सहभागि भई विजेता हुने विद्यार्थी र विद्यालय परिवारलाई गाउँपालिका प्रमुख रवि प्रकाश राईले पठन पाठन सँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल भएको प्रति गौरव गर्नुहुँदै बधाई ज्ञापन गर्नुभएको छ । विजेता विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख राई सहित उपाध्यक्ष बिर्सिका राई, साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, साकेला माविका प्रधानाध्यापक शिवेन्द्र कुमार राई, सरस्वती माविका प्रधानाध्यापक शितल राई, सिद्देश्वरी माविका प्रधानाध्यापक युवराज कटवाल, बालबालिका माविका प्रधानाध्यापक कुमार ढकाल लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया