साकेला- साकेला गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्कृनिङ शिविर आईतबार बाट सुरु गरिएको छ । टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविर स्वास्थ्य चौकी मात्तिमबाट सुरु गरिएको छ । आज आईतबार भएको शिविरमा नौ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ भने आङ खस्ने रोगको प्राथमिक उपचार एक जना र परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट प्रयोग सम्बन्धी सात जनाले सेवा लिएका छन् ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको प्रमुख आथित्यतामा शिविर सञ्चालन भएको थियो । आगामी माघ २६ गते सम्म सञ्चालन हुने शिविरको दोश्रो दिन भोली सोमबार आधारभूत स्वास्थ्य सेवा ईकाई केन्द्र मात्तिम, मंगलबार स्वास्थ्यचौकी खिदिमा, बुधबार स्वास्थ्य चौकी बाँझेच्यानडाँडा, बिहीबार सामुदायिक स्वास्थ्य सेवा ईकाई केन्द्र डाँडागाउँ र अन्तिम दिन साकेला आधारभूत अस्पतालमा पुगेर टुङ्गिने स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो ।
गाउँ तथा टोलका नागरिकहरुको पहुँचमा सबै प्रकारको सेवा पुर्याउने गाउँपालिकाले लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुरुप विभिन्न प्रकारका शिविरहरु सञ्चालन गरि नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले आगामी दिनहरुमा टोलटोलमा विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराईने बताउनुभयो ।
प्रतिक्रिया