साकेला- साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान सञ्चालन भईरहेको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा गाउँपालिकालाई सफा, सुन्दर र स्वच्छ पालिका निर्माण गर्नका लागि वडा तथा पालिकास्तरमा विविध कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा गाउँपालिकाले निर्माण गर गर्न लागेको फोहोरमैला व्यवस्थापन केन्द्र “सटिङ साईट” निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएको छ ।
साकेला गाउँपालिका-३ खिदिमा निवासी समाजसेवी बम प्रसाद तामाङले गाउँपालिकालाई २० रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको छ । सरकारी जग्गाको दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७९ को दफा ५ (२) बमोजिम जग्गाधनीबाट सटिङ साईट निर्माणको लागि गाउँपालिकालाई उक्त जग्गा निशुल्क प्राप्त भएको हो ।
त्यस्तै निर्माण हुन लागेको सटिङ साईड सम्म पुग्ने मोटरेबल बाटोलाई आवश्यक पर्ने जग्गा समेत स्थानीयले निशुल्क उपलब्ध गराएका छन् । साकेला-३ खिदिमा निवासी तारामान तामाङले “सटिङ साईड” सम्म पुग्ने मोटरेबल बाटोलाई आवश्यक पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराउन बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईलाई मञ्जुरीनामा प्रदान गर्नुभएको छ ।
सटिङ साईडसम्म पुग्ने सडक बाटोलाई समेत जग्गा प्राप्त भएपछि चाँडैनै सटिङ साईडको कार्य सुरु हुने बताईएको छ । गाउँपालिकाभित्र संकलन भएका फोहोरमैलालाई उक्त सटिङ साईडमा पुर्याएर विसर्जन गरिनेछ । फोहोरमैला व्यवस्थापन सम्बन्धि छुट्टै कार्यविधि बनाएर गाउँपालिकाले काम गरिरहेको छ भने प्रत्येक वडा-वडाबाट सरसफाईको अभियान सञ्चालन भईरहेको छ ।
आगामी पाँच वर्षभित्र साकेला गाउँपालिकालाई पूर्णरुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने लक्ष्य पालिकाले लिएको छ । निर्माण हुँदै गरेको आवधिक योजनामा समेत पूर्ण सरसफाईको कार्यक्रमलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको छ ।
पालिकाले थालेको पूर्ण सरसफाईको अभियानलाई पूर्ण रुपमा सहयोग पुर्याई निशुल्क जग्गा उपलब्ध गराउनुहुने जग्गादाताहरुलाई गाउँपालिका अध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभएको छ । सबैको पहल र प्रयत्नबाट पालिकाको हरेक क्षेत्रको विकास हुँदै जाने र समृद्धिको गन्तव्यमा पुर्याउन सकिने कुरा उल्लेख गर्नुभयो । विभिन्न समयमा पालिका तथा पालिका मातहतका सरकारी कार्यालयहरुलाई निशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुलाई विशेष कार्यक्रमबीच सम्मान गरिने पालिकाले जनाएको छ ।
प्रतिक्रिया