साकेला- सडक बिगारेपछि अत्याधिक भारवान क्षमताको काठ बोक्ने ट्रक गाउँपालिका क्षेत्रभित्र प्रवेश निषेध गरेको निर्णय विपरित प्रवेश गर्ने २१ टन क्षमताको दश चक्के ट्रकलाई गाउँपालिकाले नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर-३ खिदिमास्थित पुङ्मामा तराई लैजान काठ लोड गर्दै गरेको प्रदेश १-02-001 ख 9976 नम्बरको ट्रक नेपाल प्रहरीको सहयोगमा बिहीबार नियन्त्रणमा लिईएको हो ।
अत्याधिक भार वहन गर्ने मालबाहक ट्रक गाउँ प्रवेश गर्दा भर्खरै बनेको कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय नै गरेर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ भने प्रवेश गरेको पाईएमा २० हजार रुपैंया सम्म जरिवाना गर्ने निर्णय गरेको छ ।
‘अत्याधिक भारवहन क्षमताका गाडीहरु गाउँ प्रवेश गर्दा सडकहरु क्षतविक्षत भएको पाईएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको अध्यक्ष राईले बताउनुभयो । यसअघि काटिसकेर घाटगद्धीमा राखेको काठ ओसार्न भने १५ टन क्षमताको ६ चक्के ट्रकलाई सम्बन्धित वडा कार्यालयको अनुमति लिएर ढुवानी गर्न दिइने कार्यपालिकाबाट निर्णय भएको उहाँले बताउनुभयो ।
‘यसअघि काटेर राखिएका काठ निकासा गर्नका लागि १५ टन क्षमताका ६ चक्के गाडीबाट ढुवानी गर्न दिइने छ’ राईले भन्नुभयो ‘त्यसपश्चात ६ चक्केलाई पनि गाउँपालिका प्रवेश निषेध गरिनेछ ।’ राज्यको अरबौं बजेट लगानी गरेर निर्माण गरिएका सडक संरचनाहरु बचाउनका लागि आफूहरु निर्मम बन्नुपरेको अध्यक्ष राईको भनाई छ ।
पछिल्लो समय गाउँगाउँमा उत्पादन भएका उत्तिसजन्य काठ लिन ठूला-ठूला भारवन क्षमताका ट्रक गाउँ छिर्ने गरेका छन् तर तिनीहरुले बिगारेको सडक मर्मत गर्न करोडौं लाग्छ, हामीसँग मर्मत गर्ने पैसा छैन, व्यवसायीहरुले बनाईदिदैनन् । काठ निकासीले गाउँपालिकालाई केही राजश्व संकलन होला, स्थानीयलाई केही फाईदा त होला तर दुईचार लाख फाईदा हुने लोभमा भर्खरै बन्दै गरेको सडक संरचना भत्किएको टुलुटुलु हेरेर बस्न सकिएन ।
त्यसो त पालिकाले अत्याधिक भारवान क्षमताको ट्रक पालिका प्रवेश गर्न नदिने तयारी गरि व्यवसायीहरुलाई सचेत गराउँदै आएको थियो । ठूला क्षमताको ट्रक प्रवेश गर्ने विषयमा व्यवसायीहरुसँग पालिकाले केही समय अघि छलफल समेत चलाएको थियो । उक्त छलफलको वेवास्ता गर्दै आएको व्यवसायीहरु विरुद्ध पालिका यतिबेला भने निर्मम बनेको छ । पालिकाको गौरवको आयोजना मानिएको साप्सु-मानेभञ्ज्याङ-पाँचधारे सडक, बाँझेच्यानडाँडा-रतन्छा-मानेभञ्ज्याङ-काल्चिनखोला सडक लगायत भित्रि सडकहरुमा काठ बोक्न प्रयोग हुने ठूला सवारी साधन छिरेपछि सडक भत्किएको छ । भित्रि सडकहरु गाउँपालिकाले केही महिनाअघिमात्र सखार गरेको थियो । गाउँ तथा टोल सम्म एम्वुलेन्स पुग्न सक्ने गरि बाटोको सरसफाई गाउँपालिकाले गरेको भए पनि काठ बोक्ने ठूला गाडी प्रवेश गरेपछि अहिले टोल-टोलमा एम्वुलेन्स समेत पुग्न सक्ने अवस्था नभएको स्थानीय नागरिकहरुको भनाई छ ।
मालबाहक ट्रकले बिगारेका सडक मर्मत तथा पुनः निर्माण गर्न राज्यको करोडौं बजेट खर्च लाग्ने भएकाले त्यस्तो हुन नदिन गाउँपालिकाले यस्तो कदम चालेको अध्यक्ष राईको भनाई छ । उता, छिमेकी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि अत्याधिक भारवान क्षमताका ट्रकलाई गाउँपालिका प्रवेश गर्न रोक लगाएको छ । कार्यपालिका वैठकले निर्णय गरेरै उक्त क्षमताका ट्रकलाई आवतजावतमा रोक लगाएको सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
काठ ढुवानीको नाममा क्षतविक्षत बनाएर अलपत्र छाडिएको सडक ।
मोटरसाईकल समेत हिड्न नसक्नेगरी सडकमा थुपारिएको काठ र क्षमविक्षत बनाईएको सडक ।
प्रतिक्रिया