कार्तिक १८, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको अवलोकन (फोटो फिचर)

    काठमाडौ-चित्रकलाको माध्यमद्धारा खोटाङलाई चिनाउने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संघीय राजधानी काठमाडौमा चित्रकला प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ । उक्त नगरपालिकाले नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा चित्रकला प्रदर्शनीको आयोजना गरेको हो ।

    गत फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौड्यालले उद्घाटन गर्नुभएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ले खोटाङका हरेक पक्षको जानकारी दिनेछ । शुक्रबार साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले प्रदर्शनमा राखिएको चित्रको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, प्राज्ञ धनु याक्खा लगायतले प्रदर्शनीस्थल पुग्नुभएका अध्यक्ष राई सहितको टोलीलाई स्वागत गर्दै जारी चित्रकला प्रदर्शनीबारे जानकारी गराउनुभएको थियो । अवलोकनपश्चात अध्यक्ष राईले देशभरीकै स्थानीय सरकारहरुमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खोटाङ जिल्लालाई चित्रकलाको माध्यमद्वारा चिनाउने उदाहरणीय कार्य गरेकोप्रति खुलेरै प्रशंसा गर्नुभयो ।

    उहाँले भन्नुभयो –प्रदर्शनमा राखिएको यस चित्रलाई नगरपालिकाले आफ्नो सम्पति सम्झेर संग्रहित गरि राख्नुपर्छ, वर्षौंपछि यसको महत्व अझै बढेर जान्छ । सरकारी कामकाजको शिलशिलामा राजधानी पुग्नुभएका अध्यक्ष राई सहित साकेला गाउँपालिका ५ नम्बर वडा अध्यक्ष तथा साकेला गाउँपालिका प्रवक्ता जीवन खत्री, १ नम्बर वडा अध्यक्ष हेमन राई लगायतले चित्रकला प्रदर्शनीको अवलोकन गर्नुभएको हो ।

    दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ । दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्माआयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका २१० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको मेयर भट्टराईले बताउनुभयो ।

    चित्रकला प्रदर्शनीको मुख्य उद्देश्य त्यहाँको संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने समेत रहेको मेयर भट्टराईको धारणा छ । चित्रकला प्रदर्शनी हेर्न हरेक दिन पाँच सय बढी देश तथा विदेशका नागरिकहरु आउने गरेका छन् । चित्रकला प्रदर्शनी आगामी फागुन १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट गरिने आयोजकले जनाएको छ ।

    प्रदर्शनमा राखिएका चित्रकला तथा अवलोकन गर्दाको फोटो फिचर

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया