साकेला- साकेला गाउँपालिकाले पूर्ण सरसफाइमैत्री पालिका निर्माण गर्ने अभियानलाई निरन्तरता दिदै आईरहेकाे छ । साे अभियान अन्तर्गत पालिकाले हरेक हप्ताको शनिबार बजार क्षेत्रमा सरसफाइ गर्दै आएकाे छ । पालिकाभरी अभियान सञ्चालन गर्दै आएको गाउँपालिकाले नमूनाकाे लागि बजार क्षेत्रमा सरसफाइ गर्नुका साथै धुलाे रहित बजार बनाउन सडकमा नियमित पानी हाल्ने काम गर्दै आएको छ । स्थानीय बजारबासी र कर्मचारीहरुले नियमित रुपमा सरसफाइकाे कामलाई साथ दिँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राई आफै सरसफाइकाे हरेक काममा अग्रसर भई अभियानकाे नेतृत्व गरिरहनु भएको छ । आफै झाडु हातमा बोकेर बाहिर निस्कनुहुन्छ । पालिकाले सञ्चालन गरेकाे सरसफाइ अभियानमा जाेडिएर काम गर्न बजारबासी, स्थानीय नागरिकहरुलाई अध्यक्ष राईले आग्रह गर्दै आउनुभएको छ । आफू हिडिरहेकाे अवस्थामा चाउचाउ, बिस्कुट, चक्लेट, चुराेट, गुड्खा, खैनी लगायत प्लाष्टिकजन्य र सिसाजन्य फाेहाेर भेट्टिएमा अध्यक्ष राई आफै ती फाेहाेर टिप्नुहुन्छ र नजिकै राखिएको डष्टविनमा लगेर खसाल्नुहुन्छ ।
फाेहाेरमैला व्यवस्थापन गर्नका लागि अध्यक्ष राईकाे नेतृत्वमा पालिकाभरीका बजार क्षेत्र, सार्वजनिक स्थान, पार्क, सरकारी कार्यालय, विद्यालय परिसर र मानिसकाे जमघट हुने ठाउँमा डष्टविन राखिएको छ । कुहिने, नकुहिने र शिसाजन्य फाेहाेर फाल्नका लागि छुट्टाछुट्टै डष्टविनकाे व्यवस्था गरिएकाे छ । त्यसरी राखिएको डष्टविनमा कुहिने, नकुहिने र शिसाजन्य फाेहाेर लगाउन गाउँपालिकाले अनुराेध गर्दै आएकाे छ ।
त्यसरी डष्टविनमा सङ्कलन भएको फाेहाेरमैलालाई पालिकाले निर्माण गर्दै गरेकाे सटिङ साईडमा लगेर विसर्जन गर्ने तयारी गरेकाे छ । सटिङ साईड साकेला गाउँपालिकाकाे वडा नम्बर-३, खिदिमामा निर्माण गर्ने तयारी गरिएको छ । सटिङ साईड निर्माण गर्न र साे साईड सम्म पुग्ने सडक बनाउन स्थानीयहरुले निशुल्क जग्गा समेत उपलब्ध गराएकाे छ । पालिकालाई पूर्णरूपमा सरसफाइमैत्री पालिका बनाउन कार्यक्रम नै बनाएर विगत केही वर्ष अघिदेखि काम सुरु गरिएको छ ।
अधिकृत स्तरकाे कर्मचारी एक जना र हरेक वडाहरुमा एक-एक जना उत्प्रेरक कर्मचारी नियुक्ति गरि पालिकाले काम गर्दै आएकाे छ । हरेक टाेल तथा बस्ती र बजारहरुमा सरसफाइकाे अभियानलाई निरन्तरता दिने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ । प्लाष्टिकजन्य र शिसाजन्य वस्तुहरुले बजार क्षेत्रमा कुरुप बनाउने भएकोले हरेक हप्ता घर तथा बजारबाट निस्कने फाेहाेरकाे व्यवस्थापन नागरिक आफैले गर्नुपर्ने अध्यक्ष राई बताउनुहुन्छ । हरेक क्षेत्रमा विकास गर्न पालिका सरकारले गरिदिएर मात्र हुदैन, पालिकाले गर्ने हरेक विकासमा नागरिकको साथ हुन जरुरी छ, सबै पक्षबाट सकारात्मक साथ भए पालिकालाई आर्थिक, सामाजिक, भाैतिक, पर्टन, नैतिक रुपमा समृद्ध बनाउन समय नलाग्ने अध्यक्ष राईको भनाई छ ।
प्रतिक्रिया