साकेला- खोटाङको साकेला गाउँपालिका-१ डाँडागाउँमा अवस्थित सरस्वती आधारभूत विद्यालयलाई नगद सहयोग प्राप्त भएको छ । आफू जन्मिएको ठाउँको विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुर्याउने उदेश्यले युके निवासी वकिङ नेप्लिज समाजका निवर्तमान अध्यक्ष तथा किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष आशा राई र उहाँको श्रीमान शैकुमार राईले सो विद्यालयलाई नगद ५१ हजार १०१ रुपैंया नगद हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै, सोही विद्यालयलाई किरात राई यायोक्खा युकेका वर्तमान उपाध्यक्ष अनिता राई र उहाँको श्रीमान गजेन्द्र राईले नगद ५० हजार १५५ रुपैंया सहयोग प्रदान गर्नुभएको छ । आफ्नो स्वर्गीय बुवा सारजण्ट राज बहादुर राई र स्वर्गीय आमा सुखलक्षी राईको सम्झनामा आफूहरु जन्मिएको गाउँको विद्यालयमा पुगेर एक कार्यक्रमका बीच उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।
साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहयोगीद्वय आशा राई र अनिता राईले सोही विद्यालयको बालविकास केन्द्रमा अध्ययनरत १८ जना बालबालिकालाई ट्याकसुट वितरण गर्नुका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सल र गल्फन लगाएर सम्मान गर्नुभयो ।
सो क्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आजको बालबालिका भोलिका कर्णधार भएको हुनाले उनिहरुको वृत्तिविकासमा शिक्षकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । हामीले शिक्षालाई समृद्धिको जग मान्दै आएका छौं, शिक्षक चेतनाको मुहान हो, शैक्षिक गुणस्तर सुधारको केन्द्रीय भूमिका शिक्षकको हुने भएकाले बालबालिकाको रुची र चाहना अनुकूल प्रविधिमैत्री सिकाई हुनुपर्ने कुरामा अध्यक्ष राईले जोड दिनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्न साकेला गाउँपालिका सरकार निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष राईले कस्तो शिक्षा प्रणालीबाट कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधी, मूल्याङ्कन पद्धतिले निर्धारण गर्ने भएकाले नैतिक र व्यवहारिक शिक्षाको पाठ्यक्रम चाँडै तयार गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सहयोगदाता आशा राईले आफू जन्मिएर हुर्किएको ठाउँको विद्यालयलाई सहयोग गर्नु पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले आग्रह गर्दै भन्नुभयो- विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुने भएकाले विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नु पर्दछ ।
अर्का सहयोगदाता अनिता राईले आजका बालबालिका भोलिको भविष्य बन्न सक्ने भएकाले उनिहरुको क्षमता र चाहनालाई बुझेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा पनि गाउँको विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आफूले सकेको सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत उहाँहरुले व्यक्त गर्नुभयो ।
साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको साथमा उहाँको दिदीबहिनीहरु सँयुक्त रुपमा तस्विर खिचाउनुहुँदै ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई तथा सहयोगदाताहरुलाई विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राई लगायत सो विद्यालयका शिक्षक-शिक्षकाहरुले भव्य स्वागत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन राई (सुमित) र विद्यालयका प्रअ गोविन्द बस्नेतले सहयोगदाताद्वय आशा राई र अनिता राईलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर १ बाँझेच्यानडाँडाका वडा अध्यक्ष हेमन राई, नेपाली काँग्रेसका क्षेत्रीय सचिव समराज राई लगायतको उपस्थिति रहेको थियो । यसैबीच, विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुर्याउने उद्देश्यले साकेला गाउँपालिका-१ स्थायी घर भई हाल कतारमा कार्यरत जित कुमार राईले सोही सरस्वती आधारभूत विद्यालयलाई नगद दश हजार रुपैंया सहयोग प्रदान गर्नुभएको सो विद्यालयका प्रधानाध्यापक गोविन्द बस्नेतले जानकारी दिनुभयो । विभिन्न समयमा विद्यालयलाई सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिने प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया