जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • गुणस्तरीय काम गर्न अध्यक्ष राईको आग्रह, बालबालिकालाई खोप कार्ड वितरण (फोटो फिचर)

    साकेला- साकेला गाउँपालिकाभित्र भईरहेका हरेक विकासका पूर्वाधारहरुमा गुणस्तर कायम गरि आयोजनाहरु निर्माण सम्पन्न गर्न निरन्तर निगरानी र खबरदारी गरिरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले कोही कसैले गुणस्तरहीन काम गरेको पाईएमा तत्कालै भत्काईदिने चेतावनी दिनुभएको छ । सडक, भवन, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्दा गुणस्तरीयता कायम गर्न निर्माण सम्वद्ध निकायलाई प्रमुख राईले आग्रह समेत गर्नुभएको छ ।

    उहाँले वडास्तरीय खोप समन्वय समिति बाँझेच्यानडाँडाको आयोजनामा साकेला गाउँपालिकाको वडा नम्बर १ मा सोमबार आयोजित बालबालिकालाई पूर्ण खोप कार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो । प्रमुख राईले संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण भईरहेका क्रमागत, बहुवर्षिय र यसै वर्ष सम्पन्न हुने चरणमा रहेका योजनाहरु निर्माण गर्दा प्राविधिक स्टिमेटको आधारमा गुणस्तरीय काम गर्न आग्रह गर्नुहुँदै कमीकमजोरी भएको पाईएमा भत्काईदिने चेतावनी दिनुभएको छ ।

    हामी पालिकामा भईरहेका विकासको काममा कोही आफन्त, साथिभाई, राजनैतिक आस्थाको आधारमा कमीकमजोरी गर्नेलाई छाड्दैनौं, उहाँले भन्नुभयो समग्र पालिकाको हित हुनेगरी काम नभएमा कानून बमोजिम कारवाही गर्छौं । उहाँले आफ्नो टोलछिमेक, गाउँघरमा भईरहेका विकासको योजनाहरुलाई स्थानीय नागरिकहरुले समेत खबरदारी गरि गुणस्तरीयता कायम गराउन खबरदारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    हामी भविष्यप्रतिको सोंच र चिन्तनका साथ पालिकाको हित हुनेगरि काम गरिरहेका छौं, आगामी दिनमा साकेला गाउँपालिकालाई कस्तो बनाउने, कुन-कुन पूर्वाधार निर्माण गरिसक्ने भनेर आवधिक गुरु योजनाको खाका बमोजिम पालिकाको गौरवको योजना छनौट गरि काम गरिरहेको छौं, उहाँले भन्नुभयो सबैको साथ सहयोगले मात्र उक्त योजनाहरु पुरा गर्न सकिन्छ । उहाँले पालिकाभित्र भईरहेका योजना तथा आयोजनाहरुलाई विरोध गरेर हैन, साथ सहयोग र संरक्षण गरेर विकास निर्माणमा हातेमालो गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, पर्यटन लगायत पालिकाको गौरवको योजनाहरुलाई पूर्णता दिन साकेला सरकार लागि रहेको बताउनुहुँदै अध्यक्ष राईले सबैको सकारात्मक साथका कारण पालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।

    साकेला गाउँपालिका वडा नम्बर १ स्थित वडा खोप समन्वय समितिले आयोजना गरेको पूर्ण खोप कार्ड वितरण कार्यक्रम वडा नम्बर १ का वडाध्यक्ष तथा वडास्तरीय खोप समन्वय समितिका अध्यक्ष हेमन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    स्थानीय जनप्रतिनिधि, शिक्षक कर्मचारी र स्थानीयवासीहरुको उपस्थिति रहेको कार्यक्रममा वडाका ५४ जना बालबालिकालाई पूर्ण खोप कार्ड वितरण गरिएको छ । उक्त वडामा १४१ भन्दा बढी बालबालिकालाई नियमित खोप लगाउँदै आईएको छ ।

    पूर्ण खोप वडा सुनिश्चितता गरि निरन्तरतामा टेवा पुर्याई यसको महत्वबारे सरोकारवालालाई जानकारी तथा अनुभूत गराउने उद्देश्यले पूर्ण खोप कार्ड वितरण गरिएको स्वास्थ्य चौकी बाँझेच्यानडाँडाका प्रमुख प्रितिमान ठाडामगरले जानकारी दिनुभयो । राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको मितिदेखि १५ महिना सम्ममा लगाईने विभिन्न १३ प्रकारको रोगको विरुद्धमा लगाईने खोप पुरा भएका बालबालिकालाई खोप कार्ड वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया