साकेला- सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका तथा विद्यार्थीलाई प्रोत्साहन गरि विद्यालयप्रतिको आकर्षणलाई बढाउन साकेला गाउँपालिकामा शिक्षक र विद्यार्थीलाई पोषाक वितरण गरिएको छ । चालु आर्थि वर्ष २०८०/०८१ को वडागत शिलिङबाट बजेट बिनियोजन गरेर गाउँपालिकाको वडा नम्बर ५ मात्तिमबिर्ताले पोषाक खरिद गरि वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले पाँच नम्बर वडा कार्यालयभरि रहेका चार वटा सामुदायिक विद्यालयमा बालविकास केन्द्रदेखि १२ कक्षा सम्म अध्ययनरत 450 जना विद्यार्थी र ४० जना शिक्षकहरुलाई ट्रयाकसुट र टि-शर्ट बितरण गर्नुभयो ।
विद्यार्थीहरुलाई पोषाक वितरण गर्नुहुँदै अध्यक्ष राईले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घटिरहेको परिप्रेक्षमा शिक्षामा गुणस्तर कायम गर्न पालिकाले शैक्षिक क्षेत्रका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि विद्यालय मर्जदेखि नयाँ पाठ्यक्रम निर्माणको कामको सुरुवात गर्ने तयारीमा आफूहरु रहेको उहाँको भनाई छ ।
विद्यार्थी बालबालिकाहरुलाई नैतिक शिक्षासँगै जीवन उपयोगी व्यवहारिक शिक्षाको जरुरी भएको बताउँदै अध्यक्ष राईले नैतिक, व्यवहारिक र प्रयोगात्मक शिक्षणको लागि पाठ्यक्रम निर्माणमा पालिका लागेको उल्लेख गर्नुभयो ।
सामुदायिक विद्यालयमा पनि विभिन्न सेवा सुविधा रहेको महसुस गराउन पोषाक वितरण गरिएको उक्त वडाका वडाध्यक्ष तथा प्रवक्त जीवन न्यौपाने खत्रीको भनाई छ। यस वर्ष गाउँपालिकाबाट वडागत शिलिङको लागि प्राप्त भएको रकम एकमुष्ठ रुपमा शिक्षा क्षेत्रमा खर्च गरिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । पोषाक वितरण कार्यले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढ्ने अपेक्षा गरिएको उहाँको भनाई छ।
प्रतिक्रिया