जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • जिल्लाभर निशुल्क स्वास्थ्य शिविर हुँदै, चैत्र १६ र १७ गते साकेलामा

    साकेला- खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका दशवटै स्थानीय तहको ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था खोटाङ सेवा समाज बेलायतले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो ।

    हरेक स्थानमा दुई÷दुई दिन सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुसहित स्वास्थ्यकर्मीद्धारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेनरामजङ राईले जानकारी दिनुभएको छ । चैत–१६ र १७ गते जिल्लाका चार स्थानमा एकैदिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

    ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने स्वास्थ्य शिविर चैत–१६ र १७ गते साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा सञ्चालन हुने जनाइएको छ । हरेक स्थानमा पाँच÷पाँचजना विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुले शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै शिविरमा सहभागी बिरामीलाई आवश्यक औषधि वितरण गर्ने जनाइएको छ ।

    आयोजकले चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार तथा चैत–२० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ । चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राईले जानकारी दिनुभएको छ ।

    चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा औपचारिकरुपमा समापन कार्यक्रम गरिने खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डाक्टर प्रमोद कोयीराईले जानकारी दिनुभएको छ ।

    रोजगारीको सिलसिलामा युकेमा बसेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । जिल्लाका विसभन्न ठाउँमा स्थायी घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले चन्दा सङ्कलन गरेर वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया