जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • निशुल्क स्वास्थ्य शिविर सुरु, शिविरको पहिलो दिन साकेलामा २०८ जनाको उपचार

    खोटाङ- खोटाङ सेवा समाज बेलायत (युके)ले आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका खोटाङ्गे नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई-दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी समाजले जिल्लाका ११ स्थानमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

    शिविरको पहिलो दिन (चैत–१६ र १७ गते) साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा सञ्चालन भईरहेको छ । यसैबीच, साकेला गाउँपालिकाको संयोजनमा साकेला आधारभूत अस्पतालमा भएको निशुल्क स्वास्थ्य शिविरलाई खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभयो ।

    गाउँपालिका प्रमुख रवि प्रकाश राईले खोटाङ सेवा समाजका अध्यक्ष डा. प्रमोद कोयी राई, उपाध्यक्ष भाग्यवती राई, सल्लाहकार रत्नकुमार राई लगायतको मेडिकल टिमलाई खादा र फूलमालाले स्वागत गर्नुभयो । सो क्रममा अध्यक्ष राईले स्वास्थ्य शिविरबाट दुर्गममा रहेका र विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित ग्रामीण क्षेत्रका बिरामीहरूलाई राहत पुग्ने विश्वास गर्नुभएको छ । उहाँले जन्मभूमी खोटाङलाई माया गरि निश्वार्थ भावनाले शिविर आयोजना गर्नुहुने खोटाङ सेवा समाजका पदाधिकारी र शिविरमा खट्नुहुने स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    अध्यक्ष राईले प्रवासको भूमिमा रहनुहुने खोटाङको नागरिकहरुले विभिन्न विषयगत क्षेत्रमा विज्ञता हाँसिल गर्नुभएको छ, त्यस्ता व्यक्तिहरुलाई आफ्नो जन्मभूमीमा ल्याएर उहाँहरुले सिकेको सीप र कलालाई खर्चेर जिल्लाको समृद्धिको लागि टेवा पुर्याउने कार्यका लागि पहल गर्न आग्रह गर्नुभयो । प्रवासमा रहेका खोटाङेहरुलाई जिल्लाको समृद्धिको लागि उहाँहरुले सिकेको सिपलाई प्रयोग गर्न सके सभ्य जिल्ला र स्थानीय तह निर्माण गर्न सकिने उहाँको धारणा छ ।

    खोटाङ सेवा समाजले यसअघि खोटाङ जिल्लालाई १ करोड १५ लाख बढीको ७ वटा एम्वुलेन्स प्रदान गरिसकेको छ भने कोभिडको महाभारीमा ५० लाख भन्दा बढीको औषधी उपचार सहयोग गरिसकेको छ । त्यस्तै तेश्रो सहयोग स्वरुप चार करोड बराबरको स्वास्थ्य शिविर सञ्चालन गरेर उदाहरणीय कार्य गर्नुभएकोप्रति साकेला गाउँपालिकाको तर्फबाट अध्यक्ष राईले आभार व्यक्त गर्नुभयो ।

    शिविर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सनबहादुर राईले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको प्रति खोटाङ सेवा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो । आफ्नो देश र आफ्नो गाउँको माया र सद्भावका कारण उहाँहरुले गर्नुभएको सहयोग उदाहरणीय भएको बताउँदै उहाँले आगामी दिनमा समेत निरन्तर सहयोग प्रदान गर्न आग्रह गर्नुभयो ।

    सो क्रममा खोटाङ सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईले स्थानीय सरकारहरुको समन्वयमा शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविरमा आएर स्वास्थ्य उपचार लिनुहुने बिरामीहरुलाई आराम मिल्यो भने बेलायतबाट यहाँ सम्म आएर गरेको दुख र प्रयासहरु सार्थक हुने बताउनुहुँदै स्थानीय सरकारले देखाउनुभएको सहयोग र समन्वयप्रति डा.राईले आभार प्रकट गर्नुभयो ।

    त्यस्तै, उपाध्यक्ष तथा शिविर कार्यक्रमका कोअडिनेटर भाग्यवती राईले आफ्नो जन्मभूमी र थाकथलोबाट टाढा भए पनि हामी जन्मभूमीको मायाले थोरै भए पनि मलमपट्टी लगाउने उद्देश्यका साथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । आगामी दिनमा पनि आफ्नो जन्मभूमीलाई माया गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै जाने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    साकेला आधारभूत अस्पतालमा सञ्चालन गरिएको शिविरको पहिलो दिन २०८ जनाले स्वास्थ्य उपचार पाएका छन् । साकेला अस्पतालका डा.किसन घिमिरेका अनुसार स्त्री रोग सम्बन्धि २९ जनाले स्वास्थ्‍य उपचार पाएका छन् भने जेनेरल स्वास्थ्य उपचार १२० जनाले पाएका छन् । त्यस्तै बालरोग २९ जना र दन्त उपचार सेवा ३० जनाले पाएको घिमिरेले जानकारी दिनुभयो ।

    खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले आज शुक्रबारदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ शिविर सञ्चालन गरिएको हो ।

    खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलित करिब रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ । चैत–२३ गतेसम्म सञ्चालन हुने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरूसहित १३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहने आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभयो ।

    शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार खोटाङ्गे नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

    आयोजकले चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार तथा चैत–२० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ । चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राईले जानकारी दिनुभएको छ ।

    चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा औपचारिकरुपमा समापन गरिने आयोजकले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया