जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै साकेला गाउँपालिका

    साकेला- खोटाङको साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता हरेक वडा कार्यालय र पायक पर्ने स्थानबाट वितरण गर्न सुरु गरेको छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा पालिकाले बिहीबारदेखि शिविरको आयोजना गरेर तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । शिविरको पहिलो दिन उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित वडा कार्यालयमा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीको लागि ११ लाख २५ हजार रुपैंया रकम वितरण गरिएको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।

    शुक्रबार वडा नम्बर एकको चण्डेश्वरी आधारभूत विद्यालय, वैशाख २३ गते आईतबार वडा नम्बर दुईको वडा कार्यालय रतन्छा, २४ गते सोमबार ३ नम्बर वडा कार्यालय खिदिमा, २५ गते मंगलबार ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता र २६ गते बुधबार ४ नम्बर वडा कार्यालय मात्तिममा शिविर सञ्चालन गर्ने तयारी गरिएको छ ।

    साकेला गाउँपालिकाले आ.व. ०७७/०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म आईपुग्दा कूल एक हजार चार सय जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्दै आएका छन् । चालु आवको तेश्रो त्रैमासिकमा गाउँपालिकामा कूल एक करोड ३३ लाख रुपैंया सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको छ ।

    भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ । भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

    गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया