साकेला- खोटाङको साकेला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्थापना सम्बन्धि घुम्ती शिविरको आयोजना गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा साकेला गाउँपालिकाको पाँच वटै वडामा अपाङ्गता रोकथाम तथा पुनस्थापना शिविर सञ्चालन हुनेछ ।
शिविर आज बिहीबारदेखि साकेला गाउँपालिकाको वडा नम्बर-३ खिदिमाबाट सुरु भएको छ । स्वास्थ्यचौकी खिदिमामा आयोजित शिविरमा ५९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । शिविरबाट आवश्यकता पहिचान गरि ४६ जनालाई अपाङ्गता कार्ड वितरण गरिएको छ । शिविरमा मेडिकल अफिसर डा. किसन घिमिरे, अडियोलोजिष्ट सदन भण्डारी, अफथाल्मोलोजिष्ट बबि विक्रम यादव र फिजियोथेरापिष्ट गीता त्वात्सानावासुले सेवा प्रदान गरिरहनुभएको करुणा फाउण्डेसन नेपाल अन्तर्गत साकेला गाउँपालिका संयोजक रुपा श्रेष्ठले जानकारी दिनुभयो ।
पहिचानको आधारमा पूर्ण अपाङ्गता (क वर्ग) रातो कार्ड पाउने ८ जना, अति अशक्त अपाङ्गता (ख वर्ग) निलो कार्ड पाउने ९ जना, मध्यम अपाङ्गता (ग वर्ग) सेतो कार्ड पाउने ४ जना र सामान्य अपाङ्गता (घ वर्ग) पँहेलो कार्ड पाउने १३ जना रहेका छन् । त्यस्तै नयाँ अपाङ्गता परिचयपत्र प्राप्त गर्नेहरुमध्ये ख वर्गको निलो कार्ड पाउने २ जना, सेतो कार्ड पाउने १ जना र पँहेलो कार्ड पाउने ९ जना रहेका छन् ।
शिविर आगामी जेष्ठ २१ गते सोमबार सम्म सञ्चालन हुने साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिनुभयो । शिविरको दोश्रो दिन भोली शुक्रबार वडा नम्बर-४, शनिबार वडा नम्बर ५, आईतबार वडा नम्बर १ को राधाकृष्ण मावि बाँझेच्यानडाँडा र चण्डेश्वरी प्रस्तावित मावि डाँडागाउँ तथा सोमबार गाउँपालिकाको वडा नम्बर-२ स्थित साकेला आधारभूत अस्पतालमा सञ्चालन हुने बताईएको छ ।
गाउँपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन भएको कार्यक्रम गत माघ–१ गतेबाट लागू भएर तीन वर्ष अर्थात वि.सं. २०८३ पुस मसान्तसम्म सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्न सहयोग पुग्ने साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । उहाँले भन्नुभयो- नागरिकलाई परेको समस्याप्रति साकेला गाउँपालिका सरकार संवेदनशिल छ, नागरिकको समस्या समाधान गर्ने प्रयत्न सरकारको तर्फबाट गरिनेछ । गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा परिवारको लागि गाउँपालिकाको तर्फबाट थप कार्यक्रम बिस्तार गर्दै लगिने अध्यक्ष राईको भनाई छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर नेपाल र करुणा फाउन्डेशन नेपालको ३५/३५ प्रतिशत तथा स्थानीय तहको ३० प्रतिशत लगानीमा सञ्चालन हुने उक्त कार्यक्रम तीन वर्ष सञ्चालन हुने त्रिपक्षीय सम्झौतामा उल्लेख छ । अपाङ्गता भएको व्यक्तिको पहिचान तथा परिचयपत्र वितरण शिविरमा स्वास्थ्यकर्मीहरुसँगै गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष रवि प्रकाश राई सहित उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ लगायत जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, समाजसेवीहरु लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय जनगणना-२०७८ अनुसार साकेला गाउँपालिकामा मात्रै २७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् भने १०४ जनाले पूर्ण र अति अशक्त अपाङ्गता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । शिविर सम्पन्न भएपश्चात वास्तविक अपाङ्गताहरुको तथ्याङ्क सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया