असार ६, २०८२ बिहिबार

साकेला गाउँपालिकामा पूर्ण सरसफाई कार्यक्रम प्रभावकारी बन्दै

साकेला- खोटाङको साकेला गाउँपालिकामा सञ्चालित पूर्ण सरसफाईको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विगत चार वर्षअघिदेखि सुरु गरेको सरसफाईको कार्यक्रम पछिल्लो समय थप प्रभावकारी बन्दै गएको हो । गाउँपालिकालाई पूर्ण सरसफाईमैत्री बनाउने पालिकाको उदेश्य अनुरुप कर्मचारी, प्रहरी, अन्य नागरिकहरु तथा स्थानीयवासीहरु आफ्नो घर, टोल तथा बजार क्षेत्रलाई सफा राख्न निरन्तर प्रयत्नशिल रहेका छन् । पूर्ण सरसफाईको कार्यक्रम पालिका आफैले सञ्चालन गरिरहेको छ ।

कार्यक्रमको व्यवस्थापकीय पाटो हेर्नको लागि पालिकास्तरमा एक जना र हरेक वडामा थप एक-एक जना कर्मचारीको व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई आफैले कार्यक्रमलाई सफल बनाउन महत्‍वपूर्ण अभिभावकीय भूमिका निर्वाह गरिरहनु भएको छ ।

पालिकालाई सफा, सुन्दर बनाउने प्रयत्न अनुरुप विभिन्न कार्यक्रमका साथ साथै बजार, सडक, सार्वजनिक क्षेत्रहरुमा सरसफाई गर्ने, सडक तथा पार्कहरुमा बिरुवा रोप्ने कार्यहरु नियमित भईरहेको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । हामी साकेला गाउँपालिकालाई सफा र सुन्दरसँगै गार्डेनिङ्को पालिका बनाउने प्रयत्नमा लागिरहेका छौं उहाँले भन्नुभयो हाम्रो यो प्रयत्नलाई सबैले सहयोग गरिरहनुभएको छ । यसको सम्पूर्ण श्रेय साकेलाबासीलाई जाने अध्यक्ष राई बताउनुहुन्छ ।

गाउँपालिका अध्यक्ष राईकै नेतृत्वमा शनिबार साकेला गाउँपालिका स्थित मानेभञ्ज्याङ बजार, सडक तथा पार्क सरसफाई गरिएको छ । हप्ताको एकदुई दिन यस प्रकारको सरसफाई अभियान सञ्चालन गर्ने गरिएको छ । फोहोरमैला व्यवस्थापन गर्नका लागि पालिकाले मानिसको बढि जमघट हुने स्थान, सडक, बजार, विद्यालय, विभिन्न संघसंस्था, पार्क लगायतका स्थानमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर व्यवस्थापनका लागि डष्टविन राखेर फोहोरमैला संकलन गरिरहेको छ ।

यसरी डष्टविनमा संकलन भएको फोहोरमैलालाई गाउँपालिकाको वडा नम्बर-३ मा निर्माण हुँदै गरेको सटिङ साईडमा लगेर व्यवस्थापन गर्ने पालिकाले तयारी गरेको छ । हामीले खाएको वा प्रयोग गरेको एक-एक प्लाष्टिक र अन्य फोहोरमैलाको टुक्रालाई नजिकैकै डष्टविनमा लगेर खसालियो भने पालिका आफै सुन्दर हुने अध्यक्ष राईको तर्क छ । हामी अरुलाई गाली गर्छौं तर आफ्नै अगाडि भएको फोहोर टिपेर व्यवस्थापन गर्न सक्दैनौं, अध्यक्ष राईले भन्नुभयो- नकारात्मक टिकाटिप्पणी गर्नुको सट्टामा काम गर्ने गरौं, त्यति गरियो भने कम्तिमा पालिकालाई सुन्दर राख्न सकिन्छ ।

साकेला गाउँपालिकालाई सुन्दर र सफा राख्नका लागि विगतमा गैर सरकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गरिँदै आईएकोमा आर्थिक वर्ष २०७९/०८० देखि पालिका आफैले कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्षमा विशेष अनुदान अन्तर्गत संघीय सरकारद्वारा एक करोड रुपैंया फोहोरमैला व्यवस्थापनका लागि रकम प्राप्त भई कार्यान्वयन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया