साकेला- साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ। ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सोमबार गाउँपालिकास्थित सभाहलमा सम्पन्न १४औं गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा कूल ३१ करोड २२ लाख अनुमानित बजेट प्रस्तुत गरिएको छ। आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत ६ करोड ९३ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ३८ लाख रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तर्गत १४ करोड ४३ लाख ८ हजार तथा समपुरक अनुदान अन्तर्गत ६० लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ३९ लाख ५९ हजार, सवारी करबाट २६ लाख ५१ हजार, प्रदेश सशर्त अनुदान तर्फ ९६ लाख ८२ हजार तथा समपुरक अनुदान १ करोड रुपैंया प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाख रुपैंया प्रक्षेपण गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोड ८८ लाख ९१ हजार रकम विनियोजन गरेकोमा २०८१ असार ९ गतेसम्म २३ करोड ६२ लाख ९० हजार रुपैया अर्थात कूल बजेटको ६0.८२ प्रतिशत मात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति, कार्यक्रम तथा बजेट गाउँसभामा उपाध्यक्ष बिर्सिका राईले सभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमतले पारित गरेको छ। त्यस्तै उपाध्यक्ष राईले विनियोजन विधेयक, २०८१ र आर्थिक ऐन, २०८१ लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ।
सभाध्यक्ष रवि प्रकाश राईले १२औं गाउँसभादेखि १४औं गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने, सल्लाह सुझाव प्रदान गर्नुहुने राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले साकेला गाउँपालिकाले अघि सारेको गौरवको योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउँदै पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने बताउनुहुँदै तावाभञ्ज्याङ क्षेत्रमा वृहत्त पर्यटन पूर्वाधार, तावाताल, धार्मिक पार्क, सांस्कृतिक गाउँ लगायतकाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भई साँस्कृतिक गाउँ निर्माणको काम सुरु गरिएको बताउनुभयो । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख गर्नुभयो।
साकेलाको वृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्न आवधिक योजना मार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईने बताउनुभयो।
बसाईसरी आउने परिवारलाई पाँच हजार दिने कार्यक्रमलाई निरन्तरता
पछिल्लो समय साकेलाबाट बसाईसर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८१ बाट ल्याएको नयाँ नीति अन्तर्गत अन्यत्रबाट साकेला गाउँपालिकामा बसाईसरी आउने परिवारलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने भनिएको पाँच हजार पुरस्कारको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने नीति अपनाएको छ। गाउँपालिकाले जनसङ्ख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति अघि सारेको हो। बसाईसराईलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
बजेट, नीति तथा कार्यक्रमको पूर्णपाठ
प्रतिक्रिया