मंग्सिर २४, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुरस्कृत

    साकेला- साकेला गाउँपालिकाले पालिकाभित्रका आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक र शिक्षक सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई नगद सहित सम्मान गरेको छ ।शैक्षिक सत्र २०८० मा वर्षभरी उत्कृष्ट कार्य गर्ने प्रअ र शिक्षकसँगै विद्यालय व्यवस्थापन समितिमा रहेर विद्यालय सुधारका लागि क्रियाशिल भएर काम गर्ने तीन जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई समेत पुरस्कृत गरिएको हो ।

    गाउँपालिकास्थित शिक्षा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँ शिक्षा समितिले विभिन्न मापदण्ड बनाई छनौट गरेको आधारमा पुरस्कृत गरिएको हो । पालिका भित्रका २८ वटा सामुदायिक विद्यालयहरुमध्ये पुरस्कृत हुनेहरुमा माध्यमिक तह अन्तर्गत सरस्वती माविकी प्रधानाध्यापक शितल राई, आधारभूत तह (१-८) अन्तर्गत सरस्वती आधारभूत विद्यालय साकेला-१ का प्रधानाध्यापक गोविन्द बस्नेत र आधारभूत तह (१-५) अन्तर्गत प्रतिभा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रविण कुमार राईलाई पुरस्कृत र सम्मान गरिएको छ ।

    त्यस्तै शिक्षकहरुतर्फ माध्यमिक तह अन्तर्गत साकेला माध्यमिक विद्यालयका ईन्द्रकुमार तामाङ, आधारभूत तह (१-८) सोही माविका शिक्षक प्रकाश कुमार राई र आधारभूत तह (१-५) अन्तर्गत प्रतिभा आधारभूत विद्यालयका शिक्षक दिलराज अवस्थीलाई सम्मान गरिएको शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो ।

    त्यस्तै वर्षभरी उत्कृष्ट कार्य गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्ये सिद्देश्वरी माविका अध्यक्ष मिनराज राई, चण्डेश्वरी आधारभूत विद्यालयका अध्यक्ष ज्ञान बहादुर राई र टाँकीबारी आधारभूत विद्यालयका अध्यक्ष तुलाराम राईलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नगद सात हजार रुपैंया सहित दोसल्ला र सम्मानपत्र द्धारा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, गाउँ शिक्षा समिति पदाधिकारी र जनप्रतिनिधिहरुले सम्मान तथा पुरस्कार हस्तान्तरण गर्नुभयो ।

    बिहीबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईले पालिकाले थालनी गरेको सम्मान कार्यक्रमले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुमा थप हौसला मिल्ने कुरामा आशावादी रहेको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मा शिक्षक तथा अभिभावकको भएको बताउँदै उहाँले राजनैतिक आस्थाभन्दा माथि उठेर काम गर्न सम्पूर्ण शिक्षकहरुलाई सुझाव दिनुभयो ।

    पालिकालाई समृद्धिको गन्तव्यमा लैजाने महत्वपूर्ण खुड्किलो शिक्षा भएको बताउँदै उहाँले शिक्षाको माध्यमद्धारा नै संसार परिवर्तन गर्न सकिने टिप्पणी गर्नुभयो । अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा बनाउनु पर्ने, शिशु कक्षादेखिनै बालबालिकालाई अंग्रेजी माध्यमद्धारा पठन पाठनको सुरुवात गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- शिक्षा समृद्धिको जग हो, तपाई शिक्षकहरु चेतनाको मुहान हो, आफुले जानेको सीप र कलालाई व्यवहारमा प्रयोग गर्दै जीवन उपयोगी शिक्षामा जोड दिनुहोला ।

    शैक्षिक गुणस्तरलाई सुधार गरि सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सङ्ख्या वृद्धि गर्दै लैजाने सोँचका साथ गाउँपालिका सरकार अघि बढिरहेको बताउनुहुँदै अध्यक्ष राईले यसै वर्षदेखि आधारभूत तहमा अनिवार्य अंग्रेजी माध्यमद्वारा पठनपाठन सुरुवात गरिएको र सो का लागि गाउँपालिकाले छुट्टै शिक्षा नीति बनाएर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- गाउँपालिकाको शिक्षालाई परिवर्तन गर्न आवधिक योजनाले समेटेको क्षेत्र र विषयलाई प्राथिमकता दिँदै आगामी आर्थिक वर्षको बजेट तय गरेका छौं, शैक्षिक गुणस्तर सुधारका लागि यहाँहरुको महत्वपूर्ण भूमिका हुनेछ ।

    कार्यक्रममा उपाध्यक्ष बिर्सिका राई, ५ नम्बर वडाका वडाध्यक्ष तथा प्रवक्ता जीवन खत्री, वडा अध्यक्ष गोविन्द तामाङ, साकेला माविका प्रधानाध्यापक शिवेन्द्रकुमार राई लगायतले सम्मान तथा पुरस्कृत हुने प्रअ, विव्यास अध्यक्ष र शिक्षकहरुलाई बधाई ज्ञापन गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा गाउँ शिक्षा समिति सदस्य निर्मला राईले स्वागत मन्तव्य दिनुभएको थियो भने शिक्षा शाखा संयोजक कविराज राईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

    साकेला गाउँपालिकाले गत वर्ष आधारभूत विद्यालय (१-५) अन्तर्गत जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर खड्का, आधारभूत तह (१-८) अन्तर्गत पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद घिमिरे र माध्यमिक तह (९-१२) अन्तर्गत साकेला मावि रतन्छाका प्रधानाध्यापक शिवेन्द्र कुमार राईलाई पुरस्कृत गरेको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्ये आधारभूत तह (१-५) अन्तर्गत सिद्धकाली आविका अध्यक्ष समराज राई, आधारभूत तह (१-८) अन्तर्गत पञ्चकन्या आवि मात्तिमका अध्यक्ष सिधन राई र माध्यमिक तह (९-१२) अन्तर्गत बालबालिका मावि मात्तिमका अध्यक्ष कूल प्रसाद शर्मा फुयाल पुरस्कृत हुनुभएको थियो । जनता आधारभूत विद्यालय, पञ्चकन्या आधारभूत विद्यालय र साकेला माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरिएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया