कार्तिक २२, २०८१ बिहिबार
  • ताजा अपडेट
  • English
  • उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान, विकास र परिवर्तन आफैबाट खोज्न अध्यक्ष राईको आग्रह

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले आफैबाट सुरु गरेर मात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ । हामी काम भएन भनेर सरकारलाई दोष दिन्छौं, तर आफू कहिल्यै अघि सरेर काम गर्न चाँहादैनौं, अध्यक्ष राईले भन्नुभयो – खाली सरकारको आलोचना मात्र गरेर कसरी विकास र परिवर्तन सम्भव हुन्छ ? यो देशको, यो ठाउँको विकास र समृद्धि चाहने हो भने आजैदेखि आफैबाट परिवर्तनका लागि अग्रसर हुनुहोस् ।

    साकेला गाउँपालिका स्थित वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा आईतबार १ नम्बर वडा कार्यालयमा आयोजित उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति रकम वितरण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले गर्न चाहेर मात्र देशको विकास नहुने बताउनुहुँदै विकास र समृद्धिका लागि नागरिकस्तरमा चेतनाको विकास हुन जरुरी भएको धारणा व्यक्त गर्नुभयो । नागरिक, कर्मचारी, राजनीतिज्ञ, समाजसेवी लगायत सबै तह र तप्काका व्यक्तित्वहरुले आ-आफ्नो जिम्मेवारी ईमान्दारिताका साथ पुरा गर्ने हो भने देश आफै समृद्धिको गन्तव्यमा जाने उल्लेख गर्नुभयो ।

    यसैबीच, अध्यक्ष राईले शैक्षिक गुणस्तर वृद्धि गर्न सरकार पक्ष एक्लै लागेर सम्भव नहुने बताउनुहुँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी एकमुठ्ठी भएर लागे मात्र गुणस्तरमा सुधार आउने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- देशको शिक्षा नीति गलत छ, साकेला गाउँपालिकाले शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि नैतिक, व्यवहारिक र किताबी ज्ञानलाई प्राथमिकतामा राखेर पाठ्यक्रम निर्माणको तयारी गरिरहेका छौं, किताबी ज्ञानमात्र विद्यार्थीलाई थोपरेर शिक्षामा परिवर्तन आउँदैन, त्यसका लागि तल्लो तहबाटै नैतिक शिक्षाको थालनी गर्नुपर्छ सो कुराले मात्र शिक्षामा गुणस्तर ल्याउन मद्दत पुर्याउँछ ।

    अध्यक्ष राईले अर्को एक प्रसंगमा साकेला गाउँपालिका ”तीन-चुला” भएर काम गर्न चाहिरहेको धारणा व्यक्त गर्नुभयो । तीन चुला भयो भने ‘बाहान’ अर्थात भात पाक्ने कुरा हो, सरकार, कर्मचारी र नागरिक तीन चुला हुन् अध्यक्ष राईले भन्नुभयो –तीन चुला भयो भने बाहान पाक्छ, बाहन भनेको विकास, समृद्धि र परिवर्तन हो । पार्टी, जाति, भूगोल, आस्था र वर्गलाई परै राखेर साकेलालाई घर देख्न सकियो भने पालिका सुन्दर हुन्छ र समृद्धि आउँछ । साकेला सरकार चुप लागेर बसेको छैन, हरेक क्षेत्रको विकासमा लागिरहेकै छ, साकेलालाई सुन्दर र समृद्ध बनाउने प्रयत्नमा हामी लागिरहेका छौं –अध्यक्ष राईले बताउनुभयो ।

    साकेला गाउँपालिकास्थित वडा नम्बर १ ले चालु आर्थिक वर्ष २०८०/०८१ मा वडागत शिलिङबाट विनियोजन गरेको रकमबाट शैक्षिक सत्र २०८० मा वडामा रहेका माध्यमिक तथा आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी छनौट गरेर छात्रवृत्ति रकम प्रदान गरेको हो । राधाकृष्ण माविमा कक्षा ३ मा अध्ययनरत छात्र हिमाल राई, चण्डेश्वरी मावि कक्षा ८ मा अध्ययनरत मार्टिना राई, सरस्वती प्रावि कक्षा ४ मा अध्ययनरत पारुहाङ राई, बालबालिका प्रावि कक्षा ४ मा अध्ययनरत रोजिना खड्का, जनता आविमा अध्ययनरत गोमा भुजेल र जालपा आवि कक्षा ८ मा अध्ययनरत भीमकुमारी गुरुङलाई छात्रवृति रकम उपलब्ध गराईएको हो । उत्कृष्ट अंक ल्याउने छ जना विद्यार्थीहरुलाई जनही पाँच-पाँच हजार रुपैंया छात्रवृत्ति प्रदान गरिएको वडा सचिव नमी राईले जानकारी दिनुभयो ।

    यसैबीच, छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भई विभिन्न पदक जित्ने राधाकृष्ण माध्यमिक विद्यालयका छात्र-छात्रालाई सम्‍मान स्वरुप नगद पुरस्कार वितरण गरिएको छ । स्वर्ण पदक विजेताहरुमध्ये ४/१०० रिले दौडका रेनुका हिङमाङ, कमला श्रेष्ठ, जानुका कठेत र विपना दर्नाललाई दुई हजार तथा ४/४०० रिले दौडका सन्दिका राई, सिर्जना राई, गीता भुजेल र जानुका कठेतलाई दुई हजार नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

    त्यस्तै, सटफुट तर्फ अनुजा राना, हाईजम्पका रेनुका हिङमाङ, २०० मि दौडका कमला श्रेष्ठ, त्रिपल जम्पका लक्ष्मी मगर, १५ सय र चार सय मिटर दौडका अनुस्का राई, १०० मिटर दौडका विपना दर्नाललाई जनही एक-एक हजार नगद सहित सम्मान गरिएको हो ।

    त्यस्तै रजत पदक विजेता ४/४०० मिटर रिले दौडका मन्दिप राई, ध्रुव बुढाथोकी, मिलन राई र एलन राईलाई समूहगत रुपमा दुई हजार रुपैंया सहित सम्मान गरिएको छ भने कव्वडी खेलका मिलन राई, विपिन देउजा, सञ्जोग राई, अनिल देउजा, प्रज्वल विक, अविन वस्नेत, शुसन कटवाल, एलन राई, जिआरवी राई, ध्रुव बुढाथोकी, नरेश बस्नेत, विवस बस्नेत र मन्दिप राईलाई समूहगत रुपमा छ हजार पाँच सय नगद सहित सम्मान गरिएको छ ।

    व्यक्तिगत तर्फत रजत पदक विजेता सञ्जोक राई, अनिल देउजा र नरेश बस्नेतलाई जनही सात सय रुपैंया सहित सम्मान गरिएको बताईएको छ ।

    यता, काँस्य पदक अन्तर्गत भलिवल खेलका मिलन राई, विपिन देउजा, सञ्जोक राई, अनिल देउजा, प्रज्वल विक, अविन बस्नेत, सुशन कटवाल, एलन राई र जिआरवी राईलाई समूहगत रुपमा चार हजार पाँच सय प्रदान गरि सम्मान गरिएको छ । व्यक्तिगत काँस्यपदक विजेता हाईजम्पका सुशन कटवाल, २०० मिटर दौडका विवस बस्नेत र कमला श्रेष्ठ, ४०० मिटर दौडका ध्रुव बुढाथोकी, १०० मिटर दौडका नरेश बस्नेत र त्रिपलजम्पका अनुजा रानालाई जनही पाँच सय रुपैंया सहित सम्मान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिनुभयो ।

    सम्मान तथा पुरस्कार वितरण समारोहमा निर्वाचित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया