साकेला- साकेला गाउँपालिकाले समग्र शैक्षिक अवस्था सुधारका लागि बहस सुरु गरेको छ । पछिल्लो समय एसईई लगायत अन्य परीक्षामा देखिएको नतिजा सन्तोषजनक नभएको पाईएपछि गाउँपालिकाले विषयगत शिक्षक र प्रधानाध्यापकहरुलाई बोलाएर नतिजा सुधारका लागि सुझाव दिएको छ । पालिकाभित्र रहेको छ वटा माध्यमिक विद्यालयमा गणीत, विज्ञान र अंग्रेजी विषय पढाउने शिक्षक र प्रअहरुबाट कमजोर नतिजा आउनुको प्रमुख समस्या र चुनौतीहरुबारे बुधबार अन्तरक्रिया गरिएको छ ।
गाउँपालिका प्रमुख रवि प्रकाश राईले शिक्षक, अभिभावक र विद्यार्थीले मनैदेखि लागेर आ-आफ्नो जिम्मेवारी पुरा गर्न सके नतिजा राम्रो आउने धारणा व्यक्त गर्नुभयो । पालिकाले शैक्षिक क्षेत्रमा ठूलो लगानी गरेको छ, गुणस्तरीय शिक्षाका लागि पालिकाले अझ पनि थुप्रै लगानी गर्नेछ तर नतिजा बलियो बनाउन तपाई विषयगत शिक्षक र प्रअ मनदेखिनै नलागि सम्भव छैन- अध्यक्ष राईले भन्नुभयो । विद्यालयको शैक्षिक स्थित सुधार गर्नका लागि अभिभावकको पनि ठूलो भूमिका हुन्छ, उहाँले भन्नुभयो- आफ्नो बालबालिकाले राम्ररी अध्ययन गरेको छ कि छैन, समयमा विद्यालय गएको छ कि छैन, उनिहरुको अवस्था नियमित बुझेर आफ्ना छोराछोरीप्रति गम्भीर हुनु पर्यो ।
त्यस्तै शिक्षक आफूमा भएको ज्ञान, सीपलाई विद्यार्थीले कुन रुपमा ग्रहण गर्न सक्छ त्यही माध्यमबाट पठनपाठन गराउन सके कमजोर विद्यार्थी पनि उत्कृष्ट भएर निस्कन सक्ने अध्यक्ष राईको धारणा छ । शिक्षक भनेको समृद्धिको मुहान हो, आफूमा भएको ज्ञान र सीपलाई सही ढंगबाट प्रयोग गर्नुहोस्, अध्यक्ष राईले भन्नुभयो-राजनीतिले शैक्षिक अवस्था बिग्रन्छ, राजनीतिप्रति चिन्तन मनन गर्न छाड्नुस् पठनपाठनमा ध्यान दिनुहोस् । कसरी उत्कृष्ट नतिजा ल्याउन सकिन्छ त्यो तर्फ ध्यान दिनुहोस् ।
आगामी दिनमा साकेलाको शैक्षिक गतिविधिलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आफूहरुको तहबाट लगनशिल भएर पठनपाठनमा लाग्ने विषयगत शिक्षकहरुले प्रतिवद्धता जनाएका छन् । बालबालिकाको पठनपाठनप्रति अभिभावक गम्भीर नबन्नु र विद्यार्थीले लगनशिल भएर ध्यान दिन नसक्नु कमजोर नतिजाको प्रमुख कारण भएको शिक्षकहरुको भनाई छ ।
विद्यार्थीहरु नियमित कक्षामा उपस्थित नहुने, अभिभावक शिक्षाको कमी, अनियमित शिक्षक सरुवा र सानो कक्षाबाटनै विद्यार्थीहरुमा विषयगत ज्ञान सीप सँगै बेस नभएका कारण यस वर्षको एसईईमा कमजोर नतिजा व्यहोर्नु परेको शिक्षकहरु बताउँछन् ।
साकेला गाउँपालिकामा यस वर्ष १२४ जना विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए । साकेला १ स्थित राधाकृष्ण माविबाट सहभागि २५ जना विद्यार्थी मध्ये ४ जना मात्र उत्तिर्ण भएका थिए भने साकेला २ स्थित साकेला माविबाट २४ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा कोही पनि उत्तिर्ण हुन सकेका थिएनन् । सिद्देश्वरी मावि साकेला ३ खिदिमाबाट सहभागि २१ जना विद्यार्थीमध्ये कोही पनि उत्तिर्ण हुन सकेनन् भने बालबालिका मावि साकेला ४ बाट २७ जना परीक्षार्थी सहभागि भएकोमा तीन जना मात्र उत्तिर्ण भए । त्यस्तै साकेला ५ स्थित सरस्वती माध्यमिक विद्यालयबाट सहभागि २७ जनामध्ये एक जना मात्र विद्यार्थी सफल भएका छन् ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले शैक्षिक सुधारका लागि पालिकाले गर्नुपर्ने सबै काम गरिरहेको बताउनुहुँदै आगामी दिनहरुमा शैक्षिक सुधारका लागि गर्नुपर्ने सम्पूर्ण काम पालिकाकको तर्फबाट गरिने बताउनुभयो । उहाँले अभिभावकलाई पनि शैक्षिक गुणस्तर सुधारका लागि लगानी गर्ने वातावरण तयार गरि जिम्मेवार बनाउनु पर्ने बताउनुहुँदै नियमित अनुगमनलाई प्राथमिकता दिने धारणा व्यक्त गर्नुभयो । एसईई नतिजामा कमजोर रहेका विषयलाई मजबुत बनाउनका लागि त्यसको कमी कमजोरी पत्ता लगाएर पठनपाठनमा ध्यान दिन उहाँको आग्रह थियो ।
विद्यालयमा नैतिक शिक्षाको पठनपाठन
विद्यार्थीहरुलाई नैतिकवान र जिम्मेवार बनाउनका लागि हरेक शुक्रबार नैतिक शिक्षाको आवश्यकता महशुष गरि कार्यान्वयन सुरु गरिएको छ । अब साकेला गाउँपालिकाका २८ वटा सामुदायिक विद्यालयमा हरेक हप्ताको शुक्रबारका दिन अतिरिक्त कृयाकलापको सट्टामा नैतिक र व्यवहारिक शिक्षा पठनपाठन गराउन सुरु गरिनेछ । गाउँ शिक्षा समितिको निर्णयानुसार अब हरेक शुक्रबार विद्यालयहरुले नैतिक शिक्षा पढाउनु पर्ने भएको छ ।
नैतिकता बलियो भयो भने व्यवहारिक पाटो बलियो बन्छ, त्यसपछि मात्र कितावी ज्ञानलाई प्राथमिकता दिईने गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । हामीले जीवनको महत्व बुझेका छैनौं, देशको माटोको महत्व बुझेको छैनौं, जीवनको महत्व र समयको महत्व बुझ्नु जरुरी छ सँगै विज्ञानले बनाएको समय बुझ्नुपर्छ अनि मात्र जीवनले सार्थकता पाउँछ । हामी स्थानीय पाठ्यक्रम निर्माण गरेर नै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्ने तयारीमा छौं, अध्यक्ष राईले भन्नुभयो त्यसैको कार्यान्वयनका लागि अब हरेक शुक्रबार नैतिक शिक्षाको सुरुवात गर्ने निर्णय गरिएको हो ।
प्रतिक्रिया