कार्तिक १५, २०८१ बिहिबार
  • ताजा अपडेट
  • English
  • जनश्रमदानको नेतृत्व आफै गर्दै अध्यक्ष रवि प्रकाश राई

    साकेला- खोटाङको साकेला गाउँपालिकाले जनश्रमदान जुटाएर मानेभञ्ज्याङ-बोपुङ-तावाखोला सडक शनिबार मर्मत गरेको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा ठूलो सङ्ख्यामा स्थानीयहरु जनश्रमदानका लागि सडक मर्मत गर्न पुगेका थिए ।

    साकेला गाउँपालिकाको वडा नम्बर ४ स्थित मानेभञ्ज्याङदेखि वडा नम्बर ३ बोपुङ तावाखोला हुँदै दिप्रुङ चुईचुम्मा जोड्ने सडक श्रमदान मार्फत सफा गर्नुका साथै मर्मत गरिएको थियो । पालिकामा रहेको ब्याकहोलोडर मेसिन र ट्याक्टर समेत गएको जनश्रमदान टोलीले सडक वरपरका झाडी हटाउनुका साथै वर्षादले बिगारेको सडक मर्मत गरेको हो ।

    गाउँपालिकाको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत विदाको दिन पारेर करिव सात किलोमिटर उक्त सडक मर्मत र सफा गरिएको हो । गाउँपालिकाले हरेक हप्ताको शनिबार जनश्रमदान मार्फत सरसफाई र मर्मत सम्हारको कार्य गर्दै आएको छ । वर्षादको कारण सडक खाल्डाखुल्डी भई पानी जमेर हिँडडुल समेत गर्न समस्या भएपछि सो सडक मर्मत गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

    हामी साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउने प्रयत्नशिल छौं, हामीले चालेको सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो- पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय लाग्दैन । जनश्रमदान मार्फत नै पालिकाभित्रका विभिन्न सडकहरु मर्मत सम्हार गरेर हिउँद वर्षा टोलटोल सम्म एम्वुलेन्स पुर्याउने लक्ष्य पालिकाको रहेको अध्यक्ष राई बताउनुहुन्छ । त्यसो त साकेला गाउँपालिकाको वडा नम्बर १ देखि ५ नम्बर वडाको सबै टोलटोलमा प्राय एम्वुलेन्स पुग्ने गरेको छ । बिग्रिएका, खाल्टाखुल्टी भएका र वर्षादको पानीले क्षति पुगेका सडकहरु तत्काल मर्मत गरि स्थानीय नागरिकहरुलाई सहज वातावरण तयार गर्न पालिका प्रतिवद्ध भएको अध्यक्ष राईको भनाई छ ।

    साकेला गाउँपालिकाले पूर्ण सरसफाईको अभियानलाई सफल बनाउनका लागि नियमित रुपमा बजार, सडक, सार्वजनिकस्थल, विद्यालय तथा कार्यालय परिसरमा सरसफाईको कार्य नियमित गर्दै आएको छ । पालिकालाई सुन्दर र सफा राख्न हरेक स्थानमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर सङ्कलन गर्नका लागि डष्टविनको समेत प्रयोग गर्दै आएको छ । अन्य स्थानीय तह र अन्य स्थानको बजारक्षेत्र भन्दा साकेला गाउँपालिकाको हरेक टोल तथा वस्ती र सडकहरु सफा र देशकै नमूना भएको स्थानीयहरु बताउँछन् । साकेला गाउँपालिकाले सुरुवात गरेको सरसफाईको अभियान प्रभावकारी बन्दै गएको उनिहरुको भनाई छ ।

    शनिबार सम्पन्न जनश्रमदानमा ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, स्थानीवासी नागरिक, व्यपारव्यवसायी लगायत करीव ६० जनाको उपस्थिति रहेको थियो । उनिहरुले सडकमा भएको नाली तथा झाडी सरसफाई गरेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया