कार्तिक १७, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • अमेरिका पुगेका वडाध्यक्ष विरुद्ध नागरिक, विभिन्न निकायमा बुझाए ज्ञापनपत्र

    साकेला- लामो समयदेखि वडाअध्यक्ष नहुँदा नागरिकले दुख पाएको भन्दै खोटाङको साकेला गाउँपालिका-४ स्थित मात्तिमका स्थानीयहरुले सोमबार उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईलाई ज्ञापनपत्र बुझाएका छन् । उक्त वडाका वडा अध्यक्ष अर्जुन कुमार कटवाल सँयुक्त राज्य अमेरिका गएपछि हाल वडा सदस्यले कार्यवाहक भई वडा सञ्चालन गर्दै आएका छन् ।

    वडा अध्यक्ष नियमित रुपमा वडामा नबस्दा नागरिकले दुख पाएको, विकासका कार्यहरु रोकिएको र महत्वपूर्ण कार्यहरु प्रभावित बनेको भन्दै स्थानीयवासीहरुले तत्काल समस्याको समाधानका लागि गाउँपालिका सहित विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका हुन् । नागरिकको समस्याप्रति वडा अध्यक्ष गैर जिम्मेवार बनेको भन्दै सोही वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा सर्वदलीय वैठक बसि निर्णय गरेर नै ज्ञापनपत्र बुझाईएको संयोजक भट्टराईले बताउनुभयो ।

    वडाध्यक्षका कारण हामी वडाबासी अत्यन्तै मारमा परेका छौं, नागरिकताको सिफारिसदेखि विभिन्न विकास निर्माणका कार्यमा समेत नागरिकले दुख पाउने गरेको बताउनुहुँदै उहाँले जिम्मेवारी पुरा गर्न नसक्ने हो भने वैकल्पिक उपायको लागि बाटो खुल्ला गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । स्थानीय वुद्धिजीवि तथा समाजसेवी नागरिकहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु र स्थानीयको तर्फबाट वडाध्यक्षको वैकल्पिक व्यवस्था गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमा भनिएको छ- “निज अर्जुन कुमार कटवालले गैर जिम्मेवार ढंगबाट आफूलाई मतदान गर्ने नागरिकप्रति अन्याय गरिरहेको र नेपालको संविधान विपरित गैर जिम्मेवार बनि अध्यक्ष कटवाल अमेरिका हुनुहुन्छ भनिन्छ ।” वडाध्यक्षको विषयमा सम्बन्धित निकायले आगामी १५ दिनभित्र समस्या समाधान नगराए साकेला-४ का सम्पूर्ण जनता समस्या समाधानको लागि कडा कदम चाल्न वाध्य हुने चेतावनी दिईएको छ ।

    उक्त वडामा नेकपा माओवादीको तर्फबाट निर्वाचित वडाध्यक्ष कटवाल निर्वाचित भएको समयदेखि नै वडा कार्यालय र वडावासीप्रति गैरजिम्मेवार बनेको, नियमित रुपमा कार्यालयमा उपस्थित नभएको र पछिल्लो समय २०८० माघ १७ गतेदेखि हालसम्म वडामा अनुपस्थित भएको ज्ञापनपत्रमा उल्लेख छ । वडाध्यक्ष कटवालले आफूले पाउने सेवा सुविधा उपभोग गर्ने र जनतालाई सेवा दिनुको सट्टामा सास्ति दिने, कानून विपरित अधिकारको दुरुपयोग गरेको हुनाले निजलाई नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराईएको छ- ज्ञापनपत्रमा भनिएको छ ।

    स्थानीयहरुले साकेला गाउँपालिका मार्फत जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खोटाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले उक्त वडाका वडाध्यक्षको विषयमा धेरै जनगुनासो आएपछि तत्कालका लागि कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको र दिगो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाउनुभएको छ ।

    ज्ञापनपत्रमा ४ नम्बर वडाका पूर्व वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, वुद्धिजीवी समाजसेवी गोपिकृष्ण खड्का, महिला वुद्धिजीवि समाजसेवी सरिता खड्का, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि बबिन कटवाल, एमालेका टेक बहादुर कटवाल, नेकपा माओवादी केन्द्रका युवराज दुलाल, जसपाको तर्फबाट शिवप्रसाद फुयाल, नेकपा समाजवादीको तर्फबाट मनोज खड्का, स्थानीयहरु जीवन कुमार श्रेष्ठ, यामकुमार खड्का लगायतले हस्ताक्षर गर्नुभएको छ भने सो वडाका ५३ जना स्थानीयहरुले सर्वदलिय वैठकको निर्णयमा हस्ताक्षर गरेका छन् ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा वडाध्यक्षको पदावधि समाप्न नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पदपूर्ती गरिने उल्लेख छ भने एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने स्पष्ट व्यवस्था समेत गरेको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया