साकेला- धानमा विभिन्न किसिमको रोग देखिए पछि साकेला गाउँपालिकाका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना फोटो लिएर गाउँपालिकाको कृषि शाखामा गएर फोटो देखाउने र समस्या सुनाउने गरेका छन् ।
भर्खरै रोपिएको धानबालीमध्ये करीव ६० प्रतिशत धानबाली डढ्ने, जरा उखेलिने र पात मर्ने रोग लागेपछि गाउँपालिकाको वडा नम्बर-४ मात्तिम, आहाले, हुपापु र मानेगाउँका किसान चिन्तित बनेका हुन् । उनिहरुमध्ये १७२ जना किसानद्धारा निवेदनमा हस्ताक्षर गरि धानबालीमा देखिएको रोग नियन्त्रण र क्षतिपूर्तीको माग गर्दै गाउँपालिकामा मागपत्र पेश गरेका छन् ।
आज बुधबार स्थानीय समाजसेवी कृषक तथा एमाले नेता गोपिकृष्ण खड्काले गाउँपालिका अध्यक्ष रवि प्रकाश राई समक्ष किसानले लगाएको धानखेतीमा देखिएको रोग नियन्त्रण, क्षतिपूर्ती र विमाको माग राख्दै निवेदन पेश गर्नुभएको छ । यस वडाका किसानको प्रमुख मुख्य बाली धान रहेको छ भने मकै, कोदो, गहुँ, आलु र फलफूलजन्य उत्पादनमा समेत विभिन्न रोग देखा पर्ने भएको हुँदा गाउँपालिकाले बेलैमा ध्यान दिनुपर्ने किसानहरुको माग रहेको छ ।
गाउँपालिका अध्यक्ष राईले किसानले लगाएको धानबालीमा देखिएको समस्या निराकरणका लागि फिल्डस्तरमै गएर अनुसन्धान गरि रोग पत्ता लगाउन कृषि प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो- “तत्काल किसानको खेलमा पुगेर रोग पत्ता लगाएर रोग नियन्त्रणको उपाय खोज्नु ।” किसानले लगाएको धानबाली नियन्त्रणका लागि गाउँपालिकाको तर्फबाट सक्दो प्रयास हुने अध्यक्ष राईले आश्वासन दिनुभएको छ ।
प्रतिक्रिया