साकेला- शैक्षिक अवस्थालाई सुधार ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरुको प्रत्यक्ष अनुगमन गरि समग्र शैक्षिक अवस्थाबारे जानकारी लिन सुरु गरेको छ ।
पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयहरुमा अनुगमन गरि विद्यालयको समग्र अवस्था, शिक्षक-शिक्षिकाले विषयवस्तु अनुसार पठनपाठन गराए-नगराएको, विद्यालयमा नियमित उपस्थित हुने गरेको या नगरेको, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित भएनभएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठीक भएनभएको, विद्यालयमा सरसफाईको कार्यलाई निरन्तरता दिएनदिएको लगायतका विविध विषयलाई प्राथमिकतामा राखि अनुगमन सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक रवि प्रकाश राईको संयोजकत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा प्रमुख कविराज राई लगायतको टोलीले आज सोमबार बालबालिका माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा अनुगमन गरि शैक्षिक अवस्थालाई सुधार गरि गुणस्तरीय शिक्षा प्रदानका लागि शिक्षक तथा विद्यार्थीलाई सुझाव प्रदान गर्नुभएको छ ।
साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्था पहिलाको तुलनामा दिनप्रतिदिन सुधार हुँदै गएको र अझ राम्रो नतिजा ल्याई उत्कृष्ट शिक्षा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमनको माध्यमद्वारा हरेक विद्यालय पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सुझाव दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
शिक्षकहरु विद्यालय समयमै पुग्ने नगरेको, विषयवस्तुप्रति गम्भिर भएर पठनपाठन नगराएको, विद्यालयमा सरसफाई नगरेको, राजनैतिक गुठवन्दीमा सक्रिय हुने गरेको लगायतका विभिन्न प्रकारका गुनासो आउन थालेपछि विद्यालयहरुमा छड्के अनुगमन सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
हामी जुनसुकै बेला जुनसुकै विद्यालयको अनुगमनमा निसकन्छौं, अनुगमनको क्रममा कमिकमजोरी भेटिएमा सोही बमोजिम कारवाही गर्छौं, अध्यक्ष राईले भन्नुभयो- साकेला गाउँपालिकाको शैक्षिक अवस्थालाई सुधार ल्याई नतिजा राम्रो बनाउने प्रयत्नमा हामी निरन्तर लागि रहनेछौं । राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई सजाय गाउँपालिकाले दिनेछ तसर्थ भविष्यप्रति गम्भीर भएर शिक्षण सिकाई प्रकृयामा लाग्न अध्यक्ष राईको सुझाव छ ।
अनुगमनको क्रममा शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न, कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थिका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक समाग्रिको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्ने लगायतका सुझाव दिईएको छ ।
विद्यालयलाई विज्ञान प्रयोगशालाको समाग्री प्रदान
यसैबीच साकेला गाउँपालिकाको तर्फबाट उपलब्ध गराईको विज्ञान प्रयोगशालामा आवश्यक पर्ने समाग्रि बालबालिका माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा छनौटमा पर्न सफल बालबालिका माध्यमिक विद्यालयलाई ६ लाख ५० हजार रुपैंया बराबरको विज्ञान प्रयोगशाला सम्बन्धि समाग्रि सोमबार गाउँपालिका प्रमुख रवि प्रकाश राईले सो विद्यालयका प्रधानाध्यापक हरिकुमार राईलाई सोही विद्यालय पुगेर हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा प्रयोगशाला नहुँदा विद्यार्थीका लागि आवश्यक पर्ने प्रयोगात्मक कक्षा सञ्चालन गर्न निकै समस्या हुँदै आएको थियो । हाल विद्यालयको कक्षा कोठामा अलग्गै रुपमा प्रयोगशाला स्थापना भएपछि विद्यार्थीले प्रयोगात्मक कार्य सहजरुपमा सिक्न पाउने भएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया