खोटाङ- खोटाङको साकेला गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत वालबालिकालाई संलग्न गराई विभिन्न राजनैतिक दलको भातृसंस्थामा आवद्ध गराउन बन्द गरिएको छ । विद्यालयहरुमा राजनैतिक दलको संगठन निर्माण गर्ने, प्रशिक्षण गराउने र राजनैतिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागि गराउँदा शैक्षिक गुणस्तर र प्रभावकारी नतिजा ल्याउने कार्यमा गम्भीर असर परेको निष्कर्ष निकाल्दै गाउँ शिक्षा समितिले विद्यालयमा कुनै पनि राजनैतिक गतिविधि गर्न र वालवालिकालाई सहभागि नगराउन निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बिहिबार बसेको गाउँ शिक्षा समितिको वैठकले सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु १६ वर्ष भन्दा मुनिका नावालक हुने र राजनीति भन्दा पठनपाठनले नै वालवालिकाको आवश्यकताको विषय भएको र पठनपाठनले नै सुन्दर भविष्य निर्माण गर्ने भएकाले वालबालिकाहरुलाई राजनीतिबाट टाढा राख्ने निर्णय समितिले गरेको हो ।
राजनैतिक दलको भातृ संस्थामा आवद्ध गराउँदा नाबालक विद्यार्थीहरुलाई विभिन्न प्रलोभन देखाएर संगठनमा आवद्ध गराउने गरिएको र उनिहरुको पढाई खस्कँदो अवस्थामा भएको विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबाट गुनासो आएको र विद्यालयलाई राजनैतिक गतिविधि बाट टाढै राख्नुपर्ने सुझाव आएपछि गाउँ शिक्षा समितिको वैठक बसी यस्तो निर्णय गरिएको अध्यक्ष राईले बताउनुभयो ।
नावालक विद्यार्थीहरुलाई राजनैतिक गतिविधिमा संलग्न गराउनु नेपालको संविधान विपरितको कार्य भएको र संविधानको धारा १७ र धारा ३९ लाई टेकेर निर्माण भएको बालबालिका ऐन, २०७५ को परिच्छेद ८ को बालबालिका विरुद्ध हुने कसुरको दफा ६६ को उपदफा २ को (छ) मा राजनीतिक प्रयोजनका लागि नावालक विद्यार्थीलाई संगठीत गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाउने उल्लेख भए अनुसार पालिका भित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थी शतप्रतिशत नावालक भएकाले विद्यालयहरुमा विद्यार्थी संगठन निर्माणमा प्रतिवन्ध गर्ने समितिले निर्णय गरेको हो । कानून अनुसार नावालक वालवालिकाहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुने प्रकारको गतिविधि गर्न भने रोक लगाईएको छैन ।
निर्णयपछि पालिकाभित्रका सामुदायिक विद्यालयहरुमा विभिन्न प्रलोभन देखाएर राजनैतिक दलको संघसंगठनमा बालबालिकालाई आवद्ध गराउन, राजनैतिक प्रशिक्षण दिन, राजनैतिक गतिविधिमा सामेल गराउन पाईने छैन । साकेला गाउँपालिकामा एक वटा क्याम्पस सहित छ वटा माध्यमिक विद्यालय र २२ वटा आधारभूत विद्यालय रहेका छन् । छ वटा माविमध्ये केही विद्यालयहरुमा मात्र कक्षा १२ सम्मको पठनपाठन हुनेगरेको छ ।
प्रतिक्रिया