साकेला- भौगोलिक विकटताका कारण सहज रुपमा सरकारी सेवाको उपभोग गर्नबाट वञ्चित नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको टोलस्तीय घुम्ती शिविरबाट साकेला-३ खिदिमाका एक हजार बढी नागरिकले सेवा लिएका छन् ।
वडा कार्यालय खिदिमाको आयोजनामा चार दिन सम्म विभिन्न टोलमा पुगेर सञ्चालन गरिएको शिविरबाट नागरिकले सहज रुपमा सरकारी सेवाको उपभोग गर्न पाएका हुन् । आफ्नै टोल-टोलमा सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत राजश्व र स्वास्थ्य परीक्षणको सेवा पाएपछि नागरिकहरु उत्साहित भएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङले बताउनुभएको छ ।
गत बिहीबारदेखि चार दिन सम्म सञ्चालन गरिएको शिविरबाट १२७ जनाले सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण गरेको, ४३० जनाले वर्षौदेखि नतिरेको मालपोत कर शिविरस्थलमै बुझाएको र ४२० जना बढीले स्वास्थ्य परीक्षण जाँच गराएको बताईएको छ । स्वास्थ्य परीक्षण गर्नेहरुमध्ये ९५ जनाको सुगर जाँच गराएकोमा १५ जनामा सुगरको लक्षण भेटिएपछि थप उपचारका लागि परामर्श सेवा उपलब्ध गराईएको स्वास्थ्य चौकी खिदिमाका ईञ्चार्ज कमल प्रसाद फुयालले जानकारी दिनुभएको छ ।
नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ पुङमा, किवा, बोरा, मखमले, तावाभञ्ज्याङ, लामीडाँडा, सोल्मा, हात्तिसुँडे, कोक्रा, सौरे, ढाँडे र बोपुङमा शिविर सञ्चालन गरिएको वडा सचिव सुवास राईले जानकारी दिनुभयो ।
भौगोलिक विकटताका कारण स-सानो काम गर्न पनि दिन माया मारेर वडा कार्यालय सम्म धाउनु पर्ने नागरिकको समस्यालाई मध्यनजर राखेर वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिबाट खर्चको व्यवस्थापन गरेर शिविर सञ्चालन गरिएको हो । शिविरमा शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था मिलाईएको थियो । सामान्य प्रकारका सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उक्त वडाले जानकारी दिएको छ ।
नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाको सेवा पुर्याउने कोशिष गरिरहेको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुने उहाँको भनाई छ । हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट चाँडै नै मुक्त गराउनेछौं ।’
प्रतिक्रिया