साकेला । लामो समय शिक्षण पेशामा आवद्ध रहि शैक्षिक क्षेत्रलाई ठूलो योगदान पुर्याउनुभएका शिक्षक दयानन्द राईको बिहीबार निधन भएको छ । वि.सं. २००१ वैशाख १ गते खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा जन्मनुभएका राईको ८१ वर्षको उमेरमा साविकको रतन्छा गाविस-३, पिनालाखास्थित आफ्नै घरमा निधन भएको हो ।
उहाँको निधन पश्चात साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, वडाध्यक्ष जितेन्द्र कुमार राई सहित विभिन्न तह र तप्काका व्यक्तित्वहरुले समाधिस्थलमै पुगेर किराँत धर्म संस्कार अनुसार श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रजातान्त्रिक विचारसँग आवद्ध रहनुभएका साथै एक प्रजातान्त्रिक वौद्धिक र वैचारिक व्यक्तित्व दयानन्द राईप्रति नेपाली काँग्रेस युवानेता तथा महासमिति सदस्य समेत रहनुभएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । नशा सम्बन्धीको रोगका कारण अस्वस्थ भई काठमाडौमा उपचार गराईरहनुभएका शिक्षक राईलाई शुक्रबार मात्र हेलिकोप्टरबाट गाउँ ल्याईएको थियो ।
शिक्षक राई रतन्छा भरीकै एसएलसी उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले भोजपुर जिल्लास्थित विद्वोदय माध्यमिक विद्यालयमा २०१७ सालमा कक्षा ८ मा भर्ना भई वि.सं. २०२० सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । २०२९ सालमा बिए उत्तीर्ण गरेपछि उहाँले सोही सालदेखि २०३७ सालसम्म सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा अध्यापन गराउनु भयो भने २०३७ सालको शैक्षिक सत्रदेखि साकेला मावि रतन्छामा प्रधानाध्यापकमा नियुक्त भई काम गर्नुभएको इतिहाँस छ ।
शिक्षण पेशाकै क्रममा सरस्वती मावि साकेला-५ मात्तिममा लामो समयसम्म प्रधानाध्यापक भई काम गर्नुभएको र अन्त्यमा विद्योदय मावि दोर्पाचिउरीडाँडा खोटाङमा कार्यरत रहँदै गर्दा २०५८ चैत्र बाट अस्वस्थताका कारण निवृत्तिभरणमा अवकास हुनुभएको थियो । उहाँले पढाउनुभएको विद्यार्थीहरु राज्यको ठुलाठूला ओहदा र पदमा पुगेका छन् भने मन्त्रालयको सचिवदेखि सांसद सम्म भई सकेका छन् । त्यसैले उहाँको शैक्षिक क्षेत्रमा योगदान अतुलनीय र अपुरणीय छ ।
शिक्षण पेशा सुरुवात गर्नुभन्दा अगाडी उहाँले २०२३ सालदेखि चितवन जिल्लामा जेटिए भएर कृषि विकास कार्यालयमा झण्डै दुई वर्ष सम्म काम गर्नुभएको थियो ।
खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीकी रामकुमारी राईसँग विवाह गर्नुभएका शिक्षक दयानन्द राईबाट एक सन्तान छोरी निता राईको जन्म भएको थियो । शिक्षक दयानन्द राईकै पहलमा रतन्छा गाविसमा स्थायी प्रहरी चौकी स्थापना गर्न ठूलो भूमिका रहेको जानकारहरु बताउँछन् ।
उहाँ २०४५ सालमा जिल्ला शिक्षा समितिको सदस्य पदमा मनोनयन हुनुभयो भने, सोही वर्ष भूकम्प सेवा पदक समेत प्राप्त गर्नुभएको थियो । त्यस्तै प्रधानाध्यापक दयानन्द राईले शैक्षिक योगदानको कदर स्वरुप २०५६ सालमा तत्कालिन श्री ५ को सरकारबाट सम्मान र पदक समेत प्राप्त गर्नुभएको इतिहाँस छ ।
दयानन्द राईका बुवा शिवदत्त राई भने तत्कालिन राणा शासन कालको अवस्थामा पूर्व ४ नम्बर भोजपुर थुम रतन्छाको मेम्बर पद पाएको र उक्त पद समाजको लागि प्रतिष्ठित र ईज्जतिलो पदको रुपमा हेर्ने गरिन्थ्यो । सम्भवत रतन्छालीहरुमध्ये शिवदत्त राई नै सबै भन्दा पहिलो सरकारी पद धारण गर्ने अख्तियार प्राप्त अधिकारी भएको जानकारहरुको भनाई छ ।
प्रतिक्रिया