माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • आफ्नै खर्च र श्रमदान जुटाएर स्थानीयले निर्माण गरे काठको पुल

    साकेला- स-साना काम गर्दा पनि सरकारको मुख ताक्ने प्रवृत्तिलाई त्याग्दै खोटाङ खिदिमाका स्थानीयहरुले आफ्नै खर्च र जनश्रमदान जुटाएर पुल निर्माण गरेका छन् । साकेला गाउँपालिका-३ खिदिमाका स्थानीयहरुले जनश्रमदान मार्फत पुल निर्माण सम्पन्न गरेका हुन् । साविकको वडा नम्बर ९ मखमलेदेखी बोरा टोलसम्म तर्ने बोराखोलामा स्थानीय नागरिकहरुले जनश्रमदान मार्फत आधुनिक प्रकारको काठेपुल निर्माण गरेका हुन् ।

    स्थानीय मखमले र तावाभञ्ज्याङका करीव ४० जना स्थानीयहरुले लगातार तीन दिनसम्म जनश्रमदान गरेर करीव १२ मिटर लम्म्बाईको एक लाख ५० हजार रुपैंया बराबरको पुल निर्माण सम्पन्न गरेको पूर्ण सरसफाई कार्यक्रमका उत्प्रेरक नवीन श्रेष्ठले जानकारी दिनुभयो । उक्त पुल निर्माण गर्नका लागि २० किवि सल्ला र ३० किवि पात्लेको काठ प्रयोग गरिएको छ ।

    वर्षादको समय उक्त खोलामा बाढी आउँदा विद्यार्थी तथा स्थानीयवासीलाई निकै कष्ट हुँदै आएको थियो भने प्राथमिक तह अध्ययनका लागि विद्यालय सम्म पुग्न बालबालिकालाई कठीन हुँदै आएको थियो । उक्त पुल बनेपछि आवत-जावतमा स्थानीय नागरिक तथा विद्यार्थी बालवालिकालाई सुविधा पुगेको उक्त वडाका वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।

    बोरा टोलका टोल अध्यक्ष तथा टोलस्तरीय पूर्ण सरसफाई संयोजक नैन बहादुर खत्रीको नेतृत्वमा पुल निर्माण गरिएको हो । जनश्रमदानमा वडा अध्यक्ष गोबिन्द तामाङ र पूर्ण सरसफाइ अभियान उत्प्रेरक नवीन श्रेष्ठको समेत सहभागिता रहेको थियो । गाउँटोलमा भईरहेको महत्वपूर्ण विकास निर्माणको कार्य स्थानीय आफै सक्रिय भएर सम्पन्न गर्ने कार्य अत्यन्तै सह्रानीय भएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । स्थानीयबासी नागरिकहरु आफ्नो टोल र समाजमा हुने विकासका कार्यमा स्वस्फूर्त लाग्दा परिवर्तन आफै हुँदै जाने अध्यक्ष राईको भनाई छ ।

    विकासका हरेक काम गर्दा स्थानीय आफै सक्रिय भए मात्र परिवर्तन सम्भव हुने उल्लेख गर्नुहुँदै अध्यक्ष राईले सरकारले चाहेर मात्र विकास र परिवर्तन नहुने बताउनुभयो । गाउँपालिका सरकारले गर्ने हरेक गतिविधिमा नागरिकको साथ जरुरी भएको अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो- नागरिकको हरेक समस्या समाधान गरि विकास गर्नका लागि सरकारसँग बजेट छैन, स्थानीय सरकारसँग आन्तरिक श्रोत छैन, जनताले चाकेको विकास दिन सकिरहेको छैनौ तर पनि विविध क्षेत्रका काम सम्पन्न गर्न गाउँपालिका सरकार प्रयत्नशिल छ, त्यसका लागि सबै क्षेत्रका व्यक्तिव्यक्तित्वको साथको आवश्यकता छ ।  यहाँको भौतिक, शैक्षिक, पर्यटन तथा सामाजिक रुपान्तरणका लागि नागरिक आफै जागरुक बन्नुपर्ने अध्यक्ष राईको तर्क छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया