खोटाङ- बिग्रिएको सडक समयमै बन्न नसक्दा नियमित यातायात आवागमनमा समस्या झेल्दै आएका साकेला गाउँपालिकाबासी नागरिकको समस्यालाई मध्यनजर गर्दै उक्त गाउँपालिकाले छिमेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्रको सडक मर्मत गरेको छ ।
साकेला गाउँपालिकासम्म आवत जावत गर्न यात्रुलाई सास्ती भएको र उक्त सडक नगरपालिकाले बनाउन चासो नदिएपछि साकेला गाउँपालिकाले दिक्तेल अस्पतालचौक-लफ्याङ-साप्सुखोला सडक आईतबार पुन दोश्रो पटक मर्मत गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ५ स्थित लफ्याङ क्षेत्रको करीव दश किलोमिटर सडकमा वर्षादका कारण सवारी साधन गुड्न सक्ने अवस्था नभएपछि साकेला गाउँपालिकाले आफ्नै मेसिन पठाएर मर्मत गराएको हो ।
दिक्तेलबजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ-पाँचधारे तथा दिप्रुङ चुईचुम्मा हुँदै तराईका जिल्ला सम्म र साकेलाबाट दिक्तेलहुँदै राजधानी काठमाडौ सम्म जानका लागि प्रयोग हुने सो सडक खण्ड अन्तर्गत लफ्याङ क्षेत्रको सडक वर्षादको समयमा हिलोका कारण गाडि फस्ने, चिप्लने, भासिने समस्याले साकेलाबासी नागरिकहरु समस्या झेल्दै आएका छन् । सामान्यतया आफ्नो क्षेत्रभित्रको सडक र भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने साकेला गाउँपालिकालाई छिमेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वेवास्ताका कारण आफ्नो पालिका क्षेत्रभन्दा बाहिर पुगेर सडक निर्माण गर्नुपर्ने वाध्यता आई परेको छ ।
गत असार ११ गते साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा उपाध्यक्ष बिर्सिका राई, प्रवक्ता जीवन न्यौपाने खत्री, वडाध्यक्ष गोविन्द तामाङ लगायत निर्वाचित जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यापार व्यवसायी, नागरिक समाज तथा स्थानीय नागरिकहरु उक्त क्षेत्रमा पुगेर जनश्रमदान गरेका थिए । जेसिवी, ट्रक, ट्याक्टर तथा अन्य हाते औजार सहित उक्त स्थान पुगेको टोलीले छाप्रीडाँडा, दुवेक्षेत्र लगायतका स्थानमा श्रमदान गरि बाटो बनाएका थिए । साकेला गाउँपालिकाबासी नागरिकले श्रमदान गरेर बनाएको उक्त सडक असार मसान्तभित्र मर्मत गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राईले आश्वासन दिए पनि हालसम्म नगरपालिकाले यस सडक बनाउन ध्यान दिएको छैन ।
हामीले नगरपालिकालाई उक्त सडक बनाउन पटक पटक अनुरोध गर्यौं तर नगरले यस सडक बनाउने तर्फ ध्यान दिनुभएन, सडक बन्नेमा हामी आशावादी बन्यौं तर नगरको चासो यो सडकमा पुगेन । हामीलाई अति नै आवश्यक पर्ने र सदरमुकाम सँग जोड्ने मुख्य सडक भएकाले हाम्रो सिमित श्रोत र साधनको प्रयोग गरेर यो सडक बनाएका हौं- गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भन्नुभयो ।
यस सडक खण्ड निर्माणमा नगरको ध्यान नपुग्दा साकेला गाउँपालिका सम्म दैनिक उपभोग्य समाग्री, खाद्यन्न लगायत निर्माण समाग्री ढुवानी गर्न, गम्भीर प्रकृतिका बिरामीहरुलाई उपचारका लागि लैजान, एम्वुलेन्स सञ्चालन गर्न समस्या हुनेभएपछि गाउँपालिकाले पुन दोश्रो पटक पनि यही सडकलाई मर्मत गरेको हो । प्राकृतिक रुपमा हुने नाकाबन्दीबाट वर्षेनी मारमा पर्दै आएका साकेलाबासी नागरिकको समस्यालाई ध्यानमा राखेर गाउँपालिकाले यो बाटो मर्मत गरेको अध्यक्ष राई बताउनुहुन्छ ।
यो बाटो साकेला गाउँपालिकाबासीले मात्र प्रयोग गर्ने बाटो नभएर थुप्रै नागरिकहरु यही सडकको गर्ने गर्छन् । विशेष गरि खाद्यन्न लगायत विभिन्न समाग्रीहरु ढुवानी गर्न र सदरमुकाम दिक्तेलसम्म आवतजावतमा नागरिकहरुले समस्या भोग्नु परिरहेको छ अध्यक्ष राईले भन्नुभयो साकेला गाउँपालिकाबाट नगरक्षेत्रमा आएर सडक मर्मत गर्नु हाम्रो चुनौती होईन नगरपालिकालाई साकेलाले गरेको सहयोग हो ।
प्रतिक्रिया