साकेला- भौगोलिक विकटताका कारण सहज रुपमा सरकारी सेवाको उपभोग गर्नबाट वञ्चित नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको टोलस्तीय घुम्ती शिविरबाट साकेला-१ बाँझेच्यानडाँडाका एक हजार बढी नागरिकले सेवा लिएका छन् ।
गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र वडा कार्यालय बाँझेच्यानडाँडाको आयोजनामा दुई दिन सम्म विभिन्न टोलमा पुगेर सञ्चालन गरिएको शिविरबाट नागरिकले सहज रुपमा सरकारी सेवाको उपभोग गर्न पाएका हुन् । आफ्नै टोल-टोलमा सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, मालपोत राजश्व र स्वास्थ्य परीक्षणको सेवा पाएपछि नागरिकहरु उत्साहित भएको उक्त वडाका वडाध्यक्ष हेमन राईले बताउनुभएको छ । नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ उक्त वडाको सेखुवा, बाँझे, डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
गत मंगलबार र बुधबार सञ्चालन गरिएको शिविरबाट ३६० जनाले सामाजिक सुरक्षा भत्ताको लागि नवीकरण सेवा उपभोग गरेको, ४३० जनाले वर्षौदेखि नतिरेको मालपोत कर शिविरस्थलमै बुझाएको र ४२० जना बढीले स्वास्थ्य परीक्षण जाँच गराएको बताईएको छ ।
भौगोलिक विकटताका कारण स-सानो काम गर्न पनि दिन माया मारेर वडा कार्यालय सम्म धाउनु पर्ने नागरिकको समस्यालाई मध्यनजर राखेर शिविर सञ्चालन गरिएको हो । शिविरमा शारीरिक अशक्तताका कारण वडा कार्यालय सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि टोलबाटै सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने व्यवस्था मिलाईएको थियो । सामान्य प्रकारका सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उक्त वडाले जानकारी दिएको छ ।
नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा पालिकाको सेवा पुर्याउने कोशिष गरिरहेको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुने उहाँको भनाई छ । हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरै बसीबसी सेवा लिन सक्नुहुनेछ प्रमुख राईले भन्नुभयो- ‘सरकारी सेवा प्राप्त गर्नका लागि नागरिकलाई अहिले व्यहोरिरहेको झण्झटबाट चाँडै नै मुक्त गराउनेछौं ।’
प्रतिक्रिया