कार्तिक १३, २०८१ मंगलबार
  • ताजा अपडेट
  • English
  • वडाध्यक्ष कटवालको विकल्प खोज्न सुरु

    साकेला- लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका खोटाङको साकेला गाउँपालिका-४ का वडा अध्यक्ष अर्जुन कुमार कटवालको विकल्पको रुपमा अर्को व्यवस्था गरी निकास र आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउने निर्णय भएको छ । वडा अध्यक्षको विकल्पका लागि नागरिकबाट चर्को दबाव आउन थालेपछि साकेला गाउँपालिकाको सोमबार साँझसम्म बसेको कार्यपालिका वैठकले निर्णय गर्दै वडाध्यक्षको विकल्पको रुपमा अर्को व्यवस्था गर्न माग गरेको हो । वडा अध्यक्ष कटवाल २०८० माघ महिनादेखि नै गाउँपालिका र वडा कार्यालयमा उपस्थित नभई अमेरिकामा बसोबास गर्दै आउनुभएको बताईन्छ ।

    कार्यपालिका वैठकको निर्णयमा भनिएको छ –”स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६(४) ग (६) मा वडाध्यक्षले आफू वडामा अनुपस्थित हुने अवस्थामा वडा समितिको कुनै जिम्मेवारी तोक्दा सो को जानकारी गाउँपालिका अध्यक्षलाई दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्थाको विरुद्ध वडाध्यक्ष कटवाल अमेरिकामा बसोबास गर्दै आएको तर बसोबासको यकिन ठेगाना थाहा नभएको र निजले पदबाट राजिनामा समेत नदिएको हुँदा निजको लामो समयको अनुपस्थितमा गाउँपालिका/वडा कार्यालयको कामकाजमा परेको असरको स्थायी समाधान गर्नका लागि निजलाई वडा कार्यालयमा उपस्थित भई नियमित कामकाजमा फर्काउने वा निजको विकल्पको रुपमा अर्को व्यवस्था हुने सम्बन्धमा निकास तथा आवश्यक कारवाही गर्ने सम्बन्धमा निर्वाचन आयोग, जिल्ला प्रशासन, जिल्ला समन्वय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउने निर्णय गरिएको छ ।”

    वडा अध्यक्ष कटवालको कारण साकेला गाउँपालिका-४ नम्बर बासी नागरिक समाज, राजनैतिक दल लगायत स्वयम निजको पार्टी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु समेत आक्रोशित बनेका छन् । उनि विरुद्ध सर्वदलिय समितिको भेलाले निर्णय गरेर अमेरिका गएका वडाध्यक्षलाई कारवाही गरि वैकल्पिक व्यवस्था अपनाउन गत बुधबार वडा नम्बर ४ को वडा कार्यालयमा तालाबन्दी गरिएको थियो । कटवाल विरुद्ध आन्दोलनमा उत्रिएका सर्वदलीय समिति पक्ष र गाउँपालिकाबीच भएको छलफल पश्चात वडाध्यक्षको विकल्पका लागि थप आवश्यक कानूनी प्रकृया सुरु गर्न सम्बन्धित निकायलाई पहल गर्ने सहमति जुटेपछि शुक्रबार तालाबन्दी खोलिएको थियो ।

    वडाध्यक्ष कटवाल गैरजिम्मेवार बनेर नागरिकको समस्याबाट पन्छिएको विषयमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आन्दोलनरत पक्षसँग भएको सम्झौता अनुसारको प्रकृया अघि बढाईएको बताउनुभयो ।लामो समयदेखि वडा अध्यक्ष बिहिन उक्त वडाका अध्यक्ष कटवाललाई अमेरिकाबाट फर्किएर वडाबासीको काममा लाग्न र उनि निर्वाचित नेकपा माओवादी केन्द्रको नेतृत्व मार्फत अध्यक्षलाई फर्काउने वातावरण तयार गर्न मैले व्यक्तिगत तर्फ बाट समेत पटक-पटक पहल र ताकेता गर्दै आएको थिएँ, वडाध्यक्षले जनभावना अनुसार काम नगरेको भनि वडाबासीहरुको जनगुनासो आईरहेको अवस्थामा आवश्यक प्रकृया अघि बढाउनका लागि सम्बन्धित निकायमा बुझिनै रहेको थिएँ, अध्यक्ष राईले भन्नुभयो – वडाध्यक्षको विकल्पको लागि विधि र कानून बमोजिम कार्यालयको तर्फबाट प्रकृया अघि बढाउने निर्णय भएको छ, यस सम्बन्धमा चाँडै नै निकास निस्कन्छ ।

    तत्कालका लागि वडा अध्यक्षको विकल्पमा नागरिकहरुको समस्या समाधान गरि सहजता प्रदान गर्नका लागि गाउँ कार्यपालिकाको वैठकले जेष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्ने गरि निर्णय गरिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया