चैत्र ११, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • अमेरिका बसेका वडाध्यक्ष कटवाललाई पार्टीले गर्यो जिम्मेवारीबाट निलम्बन

    साकेला- नेकपा माओवादी केन्द्रले अमेरिका बस्ने वडाध्यक्षलाई जिम्मेवारीबाट निलम्बन गरेको छ । माओवादी केन्द्रले खोटाङको साकेला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अर्जुन कुमार कटवाललाई अनिश्चित कालका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको हो । विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेको तथा पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा वेवास्ता गरेको भन्दै नेकपा माओवादीको प्रदेश कमिटिले वडाध्यक्ष कटवाललाई निलम्बन गरेको हो ।

    अमेरिका रोजेका कटवाललाई पार्टीको विधान २०६० को धारा २५ १ बमोजिम कमजोरी गरेको ठहर गरि विधानको धारा २५ २ बमोजिम अनिश्चित कालका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको नेकपा माओवादी केन्द्र खोटाङका अध्यक्ष दिपक पाण्डे आकाशले जानकारी दिनुभयो । उनलाई कारवाहीका लागि माओवादी केन्द्रको साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते सिफारिस गरेको थियो ।

    माओवादी केन्द्रको प्रदेश कमिटि अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो र सचिव गणेश उप्रेती सुशिलले हस्ताक्षर गरेको निलम्बन पत्रमा अमेरिका बसेका वडाध्यक्षका कारण पार्टीले आलोचना खेप्नुपरेको उल्लेख छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका कटवाल २०८० माघ १७ गतेदेखि वडा कार्यालयमा अनुपस्थित छन् ।

    कटवाल वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए । खड्काले अहिले पनि कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । वडाध्यक्ष नभएपछि जनताले पाउने सेवासुविधा विकास निर्माण लगायतको सेवा प्रभावित छ । अमेरिकाबाट कटवाल नफर्किएपछि माओवादी केन्द्र सहितको राजनैतिक दलका प्रतिनिधिहरुले गत कार्तिक ७ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए । कटवाल अमेरिका बसेपछि विपक्षि दलहरुले वडामा उपनिर्वाचन गराउन कसरत समेत गरेका थिए । वडाध्यक्ष कटवाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया