साकेला- जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि खोटाङको साकेला गाउँपालिकाले वडा वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नेपाल एसबिआई बैंक र गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा आज मंगलबारदेखि तेश्रो त्रैमासिक रकम भुक्तानी शिविरको आयोजना गरि भत्ता वितरण सुरु गरेको हो। चालु आर्थिक वर्षको प्रथम र दोश्रो त्रैमासिक भत्ता समेत गाउँ गाउँ पुर्याएर लाभग्राहीलाई वितरण गरेको गाउँपालिकाले पुन: तेश्रो त्रैमासिकको रकम पनि शिविरकै आयोजना गरेर वितरण गर्न सुरु गरेको हो ।
बैङ्किङ प्रणाली मार्फत त्रैमासिक रुपमा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता रकम गाउँपालिकाले विगतका वर्षहरुदेखि नै शिविरको आयोजना गरि वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंक सम्म आएर भत्ता लिन नागरिकलाई असहज परिस्थिती हुने भएपछि लाभग्राहीलाई झण्झट र दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गर्ने गरिएको गरिएको बताउनुभयो । वडामा सञ्चालित शिविरमा गाउँपालिका स्थित सामाजिक सुरक्षा शाखा, नेपाल एसबिआई बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटाएर भत्ता वितरण भईरहेको गरिएको अध्यक्ष राईले बताउनुभयो ।
वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउनुहुन्छ । जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको उहाँको भनाई छ । जनतालाई सहज रुपमा सरकारी सेवाको पहुँच पुर्याउन कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेत बैंङ्किङ सुविधा प्रदान गर्दै आईएको अध्यक्ष राईको भनाई छ ।
शिविरको पहिलो दिन वडा नम्बर १ बाँझेच्यानडाँडास्थित वडा कार्यालयमा भएको भुक्तानी शिविरबाट उक्त क्षेत्रका ८४ जना लाभग्राहीले सुविधा लिएका छन् भने उनिहरुको लागि १० लाख ९९ हजार रुपैंया रकम वितरण गरिएको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । भौगोलिक रुपमा ठूलो मानिएको उक्त वडाको दुई वटा स्थानमा शिविर सञ्चालन गर्ने गरिएकोमा भोली बुधबार सोही वडाको चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँमा भुक्तानी शिविर सञ्चालन गरिने साकेला गाउँपालिकाका पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले बताउनुभयो ।
गाउँपालिकामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा एक हजार तीन सय ५५ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । उनिहरुको लागि गाउँपालिकाले एक करोड ३६ लाख ५० हजार ५११ रुपैंया निकासा गरेको छ । पाँच वटै वडामा आयोजना हुने भुक्तानी शिवर अन्तर्गत आगामी बिहीबार वडा नम्बर २ रतन्छा, २८ गते आईतबार वडा नम्बर ३ खिदिमा तथा ३० गते मङ्गलबार वडा नम्बर ४ र ५ मा पुगेर भत्ता रकम वितरण गरिने जनाईएको छ ।शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूको लागि भने नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया