जेठ ७, २०८२ सोमबार

कडा सुरक्षा घेरा सहित स्कर्टिङमा आएका मन्त्री विरुद्व स्थानीय, योजना हाल्ने प्रतिवद्वतापछि औपचारिक कार्यक्रम

खोटाङ-कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको कार्यक्रम स्थानीय नागरिकहरुद्वारा बिथोलिएको छ । नेपाल प्रहरी र ससश्त्र प्रहरीको दलबल सहित कडा सुरक्षा स्कर्टिङमा साकेला गाउँपालिका प्रवेश गरेका मन्त्री राई विरुद्ध स्थानीय नागरिकहरुले प्रदर्शन गर्दै अवरोध पुर्याएका थिए । साकेला गाउँपालिका-३ खिदिमा ढाँडेमा बिहीबार आयोजित सर्वदलीय, सर्वपक्षीय नागरिक भेटघाट कार्यक्रम आफ्नै कार्यकर्ता र स्थानीय नागरिकहरुद्धारा अवरोध भएको थियो ।

गाउँपालिकाभित्र सञ्चालन भएका योजना कटौती गरेको, कतिपय योजनाको बजेट फ्रिज गराएको, साकेला गाउँपालिकाभित्र आएको योजना मन्त्री राईले अन्यत्र दिएको भन्दै स्थानीयले लगातार तीन घण्टा कार्यक्रम बिथोलेका थिए । गाउँपालिकामा राजनीतिक पूर्वाग्राहले विभिन्न योजना कटौती गरेको भन्दै अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा करिब तीन घण्टा कार्यक्रम बिथोलिएको हो । मन्त्री राई र अध्यक्ष राईबीच वार्तापछि कार्यक्रम सुरु भएको खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

मन्त्री राई र गाउँपालिका अध्यक्ष राईबीच भएको छलफलको क्रममा साकेला गाउँपालिकामा सञ्चालन गर्नुपर्ने भौतिक विकासका कार्यक्रमहरु योजनामा समावेश गर्ने र उक्त कुरा नागरिकहरुबीचमा सार्वजनिक गर्ने बचनवद्वता पछि औपचारिक कार्यक्रम भएको थियो । साकेला गाउँपालिकाबासी नागरिकहरुको तर्फबाट गाउँपालिका अध्यक्ष राईले काटिएका योजनाहरु पुन समावेश गर्न र आवश्यकताका आधारमा प्राथमिकीकरण गरिएका योजनाहरु गाउँपालिकालाई उपलब्ध गराउन साथै आगामी वर्ष कार्यान्वयन हुने गरी योजनाहरु उपलब्ध गराउँछु भनेर नागरिकको बीचमा प्रतिवद्धता गर्न अडान कस्नुभएको थियो । गाउँपालिकाको तर्फबाट थुप्रै योजना तथा आयोजना सम्बन्धी मागहरु पटक पटक मन्त्रालय तथा मातहतका कार्यालयहरुमा पठाईएको भए पनि साकेलालाई प्रतिशोधका आधारमा उपेक्षाको दृष्टिकोणबाट हेर्ने गरिएको अध्यक्ष राईको भनाई थियो ।

मन्त्री र अध्यक्षको वार्तापश्चात औपचारिक कार्यक्रममा सम्वोधन गर्दै भौतिक तथा स्वास्थ्यमन्त्री राईले साकेला गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको साप्सुखोला-मानेभन्ज्याङ-तावाभन्ज्याङ पाँचधारे सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै डिपिआर भईसकेको गिद्देदोभान साप्सुखोला सडक पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्ने, अति आवश्यक रहेको पत्रृङ्गेटार तावाखोला पुल र लामिदुवाली-दोर्पा जोड्ने साप्सुखोला पक्की पुल दश दिनभित्र मन्त्रालयको तर्फबाट डिपिआर गरि नीति कार्यक्रममा बजेट सहित समावेश गर्ने, कात्तिके-सोस्तुङ-रतन्छा-नैनेपाटी सडकको लागि थप बजेट व्यवस्थापन गर्ने, खिदिमा-ढाँडे, वोपुङ-मानेभन्ज्याङ स्वच्छ खानेपानी व्यवस्थापनका लागि समन्वय गर्ने, मानेभन्ज्याङ-हुपापु-आहाले-मानेगाउँ-छाँगेखोला सडकको लागि बजेट व्यवस्थापन गर्ने नागरिकहरुबीचमा प्रतिवद्वता जनाउनुभएको छ । आफुले प्रतिवद्वता गरेको योजनाहरु आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत समावेश गर्ने मन्त्री राईको प्रतिवद्वता रहेको थियो ।

गाउँपालिका अध्यक्ष राईले भने मन्त्रीले प्रतिवद्वता गरे अनुसारको योजनाहरु समावेश गरि बजेट व्यवस्थापन गरेपछि स्थानीय सरकारको तर्फबाट योजना कार्यान्वयनका लागि भव्य स्वागत गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया