साकेला- खोटाङको साकेला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहको सम्बन्धमा जानकारी दिने उद्देश्यले बिहीबार अन्तरक्रियात्मक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आथित्यतामा प्रशासन कार्यालयले प्रदान गर्ने सेवा प्रवाहको सम्बन्धमा छलफल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले प्रशासन कार्यालयबाट लिईने सेवा अन्तर्गत नागरिकता वितरणको क्रममा भएका र आईपरेका समस्याबारे गुनासो पोखेका थिए । समग्र गुनासोहरुको सम्बोधन गर्ने क्रममा प्रजिअ घिमिरेले संविधान र कानून बमोजिम नागरिकको सहजताका लागि आवश्यक समन्वय गरेर अघि बढ्ने र सहजता प्रदान गर्ने कुरामा प्रतिवद्वता व्यक्त गर्नुभयो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङको तर्फबाट प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेनामूलक समाग्री प्रस्तुत गर्नुभयो ।
समग्र कार्यक्रमको बारेमा सम्वोधन गर्ने क्रममा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले नागरिकलाई दुख नहुने तवरबाट सहज ढंगले सेवा प्रवाह प्रदान गर्न सुझाव दिनुभयो । सोही क्रममा बोल्नुहुँदै उहाँले साकेला गाउँपालिकालाई देशकै नमूना पालिका बनाउनेतर्फ आफूहरुको ध्यान केन्द्रित भईरहेको र पृथक कार्यहरुको थालनी गरिएको धारणा राख्नुभयो । यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा पर्यटनको विषयमा संघ, प्रदेश र अन्य स्थानीय तहले भन्दा फरक तरिकाबाट काम भईरहेको बताउनुहुँदै अध्यक्ष राईले समृद्ध साकेला निर्माणको अभियानलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
पालिकालाई हरेक कुराबाट अघि बढाउन नागरिक आफै जागरुक र नैतिकवान बन्नुपर्ने कुरामा जोड दिनुहुँदै उहाँले समग्र विकासको जग शिक्षाबाटमात्र प्राप्त हुने र उक्त जगको थालनी नैतिक शिक्षाबाट हुने बताउनुभयो । उहाँले भन्नुभयो –अब हरेक विद्यालयहरुको शिशु कक्षादेखिनै नैतिक शिक्षाको थालनी गर्ने गरि स्थानीय पाठ्यक्रम निर्माणको काम प्रारम्भ गरेका छौं, यो देशकै उत्कृष्ट हुनेछ, उक्त पाठ्यक्रमले नैतिक, व्यवहारिक, वैज्ञानिक र वाह्य ज्ञान प्रदान गर्नेछ ।
अन्तरक्रियात्मक सार्वजनिक सुनुवाई कार्यक्रममा साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई सहित निर्वाचित जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, सरोकारवाला निकायका व्यक्तित्वहरु साथै प्रजिअ घिमिरे, रणभीम गण मुढे ब्यारेका सेनानी सरस्वती श्रेष्ठ, प्रनाउ प्रतिक विष्ट, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपती स.प्र.ना.उ. दिपेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी सागर साह लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया