श्रावण ६, २०८२ आइतबार

साकेला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा (फोटो फिचर)

साकेला- खोटाङको साकेला गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्र जन्मिएका १५ महिना उमेर समूहका 115 जना बालबालिकाले नियमित तथा पाँच वर्षमुनिका ४१७ जनाले पूर्णखोप लगाएको पाइएपछि शनिबार यस गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको सभाहल मानेभन्ज्याङमा आयोजित पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राईले कार्यक्रमलाई औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । पालिका खोप समन्वय समितिका अध्यक्ष एवम् गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस प्रमुख राईले गाउँपालिकाभित्रका एक आधारभूत अस्पताल सहित तीन वटा स्वास्थ्यचौकी, एक वटा आधारभूत स्वास्थ्य केन्द्र र दुईवटा स्वास्थ्य इकाईलाई प्रशंसापत्र र गाउँपालिकाको कार्यालयलाई कदरपत्र प्रदान गर्नुभएको छ ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासभामा जिसस प्रमुख राई, गाउँपालिका अध्यक्ष राई तथा उपाध्यक्ष बिर्सिका राई, साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, १ नम्बर वडाका वडाध्यक्ष हेमन राई, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ सहित कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाईजर निरिक्षक सुरेन्द्र कुमार बुढाथोकी, महिला स्वास्थ्य स्वयमसेविकाहरु, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले दिगोपनाका लागि तयार पारिएको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायत १४ वटा रोग विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय प्रमुख राईले पालिकाहुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुपर्ने अवस्था आएको बताउनुहुँदै जिल्ला खोप समन्वय समितिले जिल्लाका सबै स्थानमा पुगी पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा गरिने बताउनुभयो । खोप पहुँच र उपभोगलाई बढाउन तिनै तहमा खोप सम्बन्धी समन्वय, सहकार्य र अपनत्व अझै बढाउने, खोपको सूक्ष्म योजना व्यवहारिक र प्रभावकारी बनाइने समेत धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संक्षिप्त भनाई राख्नुहुँदै गाउँपालिकाका अध्यक्ष राईले साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यतर्फ लैजान पूर्ण खोप अभियान महत्वपूर्ण सूचक भएको बताउनुभयो । अर्को एक प्रसंगमा उहाँले गाउँपालिकाभित्र भईरहेका विकासको क्षेत्रमा आवश्यकता र अपरिहार्यतालाई पहिचान गरि कुनै प्रकारको विभेद नगरि सबैलाई समान व्यवहारका साथ संवेदनशिल बनेर काम गरिरहेको धारणा समेत व्यक्त गर्नुभयो । उहाँले हाल देशको अर्थतन्त्र बढाउन सके मात्र नेपाल देश रहने र देश रहेमात्र हामीले देखेको सपना पुरा हुने टिप्पणी गर्नुभयो । यस वर्ष सरकारले ऋण लिएर १९ खर्वको बजेट बनाईरहँदा देशको आम्दानी घट्दै जानु विडम्वना भएको बताउनुहुँदै उहाँले हरेक स्थानीय तहले आन्तरिक आम्दानी वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । साकेला गाउँपालिकालाई समृद्ध बनाउन शिक्षा, कृषि, पर्यटन पूर्वाधारको कुरामा जोड दिएर आफूहरु लागि परेको बताउनुभयो ।

देशको आर्थतन्त्र बढाउन हरेक स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले नयाँ विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले देशको ७५३ स्थानीय सरकारमध्ये साकेला गाउँपालिका सरकार पृथक र भिन्न तरिकाबाट समृद्ध पालिका निर्माण गर्ने अभियानमा लागिरहेको बताउनुभएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विकास र पर्यटनको माध्यमद्वारा समृद्ध पालिका बनाउने अभियानको सुरुवात भईरहेको उहाँको भनाई छ ।

साकेला गाउँपालिकालाई जिल्लाको सातौं नम्बरमा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा सभामा सम्वोधन गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई सहित वडाध्यक्षहरुले शुभकामना प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया