श्रावण ३, २०८२ बिहिबार

लगातार श्रमदानमा गाउँपालिका प्रमुख रविप्रकाश राई

साकेला- यतिबेला खोटाङको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राई लगातार श्रमदान अभियानमा लागिरहनुभएको छ । सभ्य, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने अठोटका साथ लागिरहनुभएका अध्यक्ष राई पालिकाभित्रका विभिन्न स्थानहरुमा सञ्चालन भईरहेका विकास निर्माणको काममा श्रमदान मार्फत जोडिनुभएको छ ।

देशकै नमूना गाउँपालिका निर्माणको अभियानमा जुटिरहनुभएका अध्यक्ष राई यतिबेला पालिकाको गौरवको आयोजनाको रुपमा निर्माणाधिन अवस्थामा रहेको साप्सुखोला-मात्तिम-मानेभन्ज्याङ-पाँचधारे सडकमा बिहानदेखि राती अबेरसम्म श्रमदान गरिरहनुभएको अवस्थामा भेटिनुहुन्छ । केही समयदेखि परेको लगातारको वर्षादका कारण सडकमा पुगेको क्षतिप्रति संवेदनशिल बनेर अध्यक्ष आफैले नेतृत्व गरेर सडक मर्मतको कार्य गरिरहनुभएको छ ।

भलबाढी र पहिरोका कारण नागरिकहरुलाई आवतजावतमा समस्या भएपछि अध्यक्ष राई आफै उक्त सडक मर्मत गर्न लागिरहनुभएको हो । गाउँपालिकाको आफ्नै मेसिन र ट्याक्टर तथा केही कर्मचारीहरुको सहयोगमा उक्त सडकमा अध्यक्ष राईले श्रमदान गरिरहनुभएको हो ।

गत वर्ष पनि वर्षाद सुरु हुनसाथ अध्यक्ष राईकै नेतृत्वमा केही सडकहरु मर्मत गरि सवारी साधन आवागमनलाई सहज बनाईएको थियो । त्यसो त गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समेत आकस्मिक पूर्वाधार निर्माण कार्यक्रमलाई पनि अघि सारेको छ । प्राकृतिक प्रकोप तथा विपत्तिका कारण आवागमनमा भएका समस्यालाई तत्काल समाधान गरि नागरिकलाई सेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले उक्त नीति अघि सारेको अध्यक्ष राई बताउनुहुन्छ । गाउँपालिकाभित्र हुने विकासका कार्यहरु, पालिकाले सञ्चालन गरेको पूर्ण सरसफाईका कार्यहरु तथा नागरिकसँग जोडिएका हरेक क्रियाकलापहरुमा अध्यक्ष राई स्वयम नेतृत्वकारी भूमिका निर्वाह गरेर जनश्रमदानमा जोडिने गर्नुभएको छ ।

वर्षादका कारण सडक विग्रिएर आवतजावतमा समस्या भईरहेको अन्य क्षेत्रहरुमा समेत क्रमिक रुपमा सुधार गर्दै लगिने अध्यक्ष राईको भनाई छ । हरेक कुराबाट पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बनेमात्र गाउँपालिकाले देखेको समृद्धिको सपना पुरा हुने गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । टोल-टोल बाट नागरिक आफै सक्रिय भएर विकासको कार्यलाई हातेमालो गरी सडक तथा पूर्वाधार, सरसफाई लगायतका कार्यमा सहयोग गर्न अध्यक्ष राईको आग्रह छ ।

यसैबीच, साकेला गाउँपालिकाको वडा नम्बर-५ मा रहेको पालिकाभित्रकै नमूना सरस्वती माध्यमिक विद्यालयमा समेत गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा श्रमदान मार्फत पूर्ण सरसफाईको कार्य सम्पन्न गरिएको छ । गत शुक्रबार विद्यालयले आयोजना गरेको सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयको मैदान सम्याउने, वरपर सरसफाई गर्ने लगायतका कार्य श्रमदान मार्फत सम्पन्न गरिएको उक्त विद्यालयकी प्रधानाध्यापक सितल राईले बताउनुभयो । उक्त विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा १२ कोठे दुईवटा भवन लगायतका विभिन्न संरचना समेत निर्माण भई सकेको छ । विद्यालयलाई सफा, सुन्दर र वातावरणमैत्री बनाउन पूर्ण सरसफाईको कार्यक्रम अन्तर्गत अभियान नै सञ्चालन गरेर सरसफाई गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया