साकेला– महिलाहरुलाई नेतृत्व तहमा पुर्याई आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अघि बढ्नका लागि महिला लक्षित कार्यक्रम बनाएर सहयोग गरिने साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाको वडाहरुमा भएको विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै अध्यक्ष राईले संविधानबाट प्राप्त अधिकारहरुलाई पुरा गर्नका लागि नीति बनाएर पालिकाको तर्फबाट थप सहयोग गरिने बताउनुभएको हो ।
कतिपय अवस्थामा नेपाली समाजले अझै पनि महिलाहरुलाई विभेदको दृष्टिले हेर्ने गरिएको तथ्य उल्लेख गर्दै अध्यक्ष राईले समानता र समान अधिकारका लागि महिलाहरुलाई विभेदको दृष्टिले नहेर्ने बताउनुभएको छ ।
सोही कार्यक्रममा शुभकामना प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले मूलुक परिवर्तनमा महिलाहरुको ठूलो भूमिका भएको बताउँदै महिलाहरु विभाजित नभई सकारात्मक सोंच राखी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाको विभिन्न वडाहरुमा फरक फरक महिला लक्षित कार्यक्रम गरी मनाईएको छ ।
वडा नम्बर १ बाँझेच्यानडाँडाको वडा कार्यालयमा एकल गायन र एकल नृत्य प्रतियोगिता गरी नारी दिवस मनाईएको छ । त्यस्तै वडा नम्बर २ को रतन्छामा आमा समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ भने ३ नम्बर वडा खिदिमामा टोल स्तरीय महिला भलिवल प्रतियोगिता गरेर मनाईएको बताईएको छ । उता ४ नम्बर वडा कार्यालय मात्तिममा टोल स्तरीय महिला हाजिरीजवाफ प्रतियोगिता गरिएको छ भने ५ नम्बर वडा कार्यालय मात्तिमबिर्तामा महिला हाजिरीजवाफ र एकल नृत्य प्रतियोगिता गरेर नारी दिवस मनाईएको हो ।
प्रतिक्रिया