असार २२, २०८२ शनिबार

साकेला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन छानविन गर्न समिति गठन

साकेला- विवादित बनेको साकेला बहुमुखी क्याम्पस रतन्छा खोटाङको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव छानविन समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने भएको छ । गत चैत्र ५ गते इन्द्रकुमार तामाङ निर्वाचन अधिकृत रहनुभएको स्ववियु निर्वाचन समितिले घोषणा गरेको स्ववियुको टिमको वैद्यतामाथी प्रश्न उठाउँदै जिल्लामा अस्थित्ववान चार विद्यार्थी संगठनले विरोध गर्दै आएको थियो ।

निर्वाचन समितिले यामकुमार खड्का नेतृत्वको अनेरास्ववियुको प्यानल स्ववियुमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । तर नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियूले सोही दिन संयुक्त विज्ञप्ती जारी गर्दै घोषणा गरिएको मतपरिणाम स्वीकार्य नहुने जनाएको थियो ।

सोही विवादित विषयलाई टुङ्ग्याउन शुक्रबार साँझसम्म बसेको गाउँपालिका सहित, सर्वदलिय, सर्वपक्षिय र विद्यार्थी संगठनहरुको वैठकले निर्वाचन समितिले हालसम्म गरेको क्रियाकलापबारे सत्यतथ्य बाहिर ल्याउन साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई संयोजक रहेको तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको सदस्यमा गाउँपालिकाका योजना अधिकृत सन्तोष कुमार राई र शिक्षा शाखा संयोजक कविराज राई सदस्य सचिव रहनुभएको छ । गठीत समितिले एक हप्ताभित्र सत्यतथ्य बाहिर ल्याएपछि अन्य प्रकृया अघि बढाउने वैठकमा सहमती भएको छ ।

स्ववियु निर्वाचन विवादबारे गाउँपालिकामा जानकारी प्राप्त भएपछि अध्यक्ष रवि प्रकाश राई आफै उक्त वैठकमा उपस्थित भएर यस विषयमा निष्पक्ष छानविन समिति गठन गर्न निर्देशन दिनुभएको थियो । उहाँले भन्नुभयो- साकेला गाउँपालिकाको शैक्षिक गुणस्‍तर सुधार गर्न चासो र चिन्ता गरिरहेको अवस्थामा यस प्रकारको विवाद हुनु दुखद हो । साकेला गाउँपालिका कुनै राजनैतिक आस्था, जात, पुस्ता, लिङ्ग, वर्गको आधारमा निर्णय गर्दैन, गहिरो छानविन गरी न्यायोचित निर्णय गर्नेछ ।

यस विषयमा स्थानीय सरकार निरिह, गैरजिम्मेवार हुनुहुँदैन भनेर म आफै उपस्थित भएको छु, उहाँले भन्नुभयो- निर्वाचन हार्ने र जित्ने भन्दा पनि साकेला बहुमुखी क्याम्पसलाई कसरी बचाई राख्नेतर्फ सबैले सोच्नुपर्छ । छानविन समितिले एक हप्ताभित्र सत्यतथ्य छानविन गरी गाउँपालिकालाई प्रतिवेदन बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया