असार २२, २०८२ शनिबार

‘साकेला आधारभूत अस्पताल’ उद्घाटन

साकेला- साकेला गाउँपालिकामा अवस्थित ५ शैयाको अस्थायी अस्पताललाई औपचारिक रुपमा ‘साकेला आधारभूत अस्पताल’ उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई र गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले संयुक्त रुपमा अस्पतालको वोर्ड पढेर र रिवन काटेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । विगत २ वर्ष अघिदेखि कोभिड अस्पतालको रुपमा सञ्चालन हुँदै आएको उक्त अस्थायी अस्पताललाई नेपाल सरकारको नीति अनुरुप साकेला आधारभूत अस्पतालमा स्तरवृद्धि गरि उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले साकेलाबासी नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर नराख्ने र हरेक नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध भएको बताउनुभयो ।

गाउँपालिका समृद्धिको गन्तव्यतर्फ अघि बढ्दै जाँदा नागरिकहरुले प्राप्त गर्ने न्यूनतम स्वास्थ्य सेवालाई घरघर सम्म पुर्याउने कोशिष गर्ने बताउँदै अध्यक्ष राईले ५ शैयाको अस्पताललाई थप स्तरवृद्धि गरि १५ शैयाको बनाउन पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले रतन्छामा भएको स्वास्थ्य चौकीको स्तरवृद्धि भई ५ शैयाको अस्पताल स्थापना हुनु साकेलाबासीको लागि गौरवको विषय भएको बताउँदै अस्पतालबाट प्राप्त हुने सम्पूर्ण सुविधा नागरिकले प्राप्त गर्ने कुरामा विश्वस्त भएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले साकेलामा स्थापना भएको ५ शैयाको आधारभूत अस्पताललाई अक्सिजन कन्सन्टेटर, बेड, औषधीहरु लगायत अन्य आवश्यकीय उपकरणहरु उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु हेमन राई, जितेन्द्र कुमार राई, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाई, नेपाली काँग्रेसका पार्टी प्रतिनिधि सिजन राई, जसपाका युवराज राई, आधारभूत अस्पतालका डाक्टर किसन घिमिरे, साकेला माविका प्रअ शिवेन्द्र कुमार राई लगायतले आधारभूत अस्पताल उद्घाटन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया