असार २३, २०८२ आइतबार

गाउँ-गाउँमै वृद्धभत्ता, ८० लाख बढी वितरण

साकेला- खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा वडा-वडा पुगेर बैंङ्किङ प्रणाली मार्फत वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक बापत वृद्ध-वृद्धाले प्राउने भत्ता रकम उक्त गाउँपालिकाले दशै अगाडी नै वितरण सम्पन्न गरेको हो ।

गाउँपालिकामा स्थापना भएको नेपाल एसबिआई बैंक र साकेला गाउँपालिकाले पालिकाको विभिन्न छ वटा स्थानहरुमा भुक्तानी शिविर सञ्चालन गरेको थियो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैंकसम्म आएर आफ्नो भत्ता लिन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट ५३५ जना लाभग्राहीलाई ८० लाख ४७ हजार रकम वितरण गरिएको छ ।

गत असोज २३ गते वडा नम्बर २ रतन्छामा १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रकम बैंङ्किङ प्रणाली मार्फत वितरण गरिएको छ । त्यस्तै, असोज २४ गते ३ नम्बर वडा कार्यालय खिदिमामा आयोजना गरिएको भुक्तानी शिविरबाट ८२ जना लाभग्राहीले ९ लाख १७ हजार रुपैंया भत्ता बुझेका छन् ।

साकेला गाउँपालिकाको वडा नम्बर-१ स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालित भुक्तानी शिविर ।

असोज २५ गते वडा नम्बर ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट १०४ जनाले १५ लाख ७५ हजार रकम बुझेका छन् । त्यस्तै असोज २६ गते ४ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरबाट ४८ जनाले ७ लाख ४९ हजार रकम प्राप्त गरेका छन् । यता पालिकाको सबैभन्दा टाढाको दुरीमा रहेको वडा नम्बर १ को बाँझेच्यानडाँडामा गत सोमबार सञ्चालन गरिएको शिविरबाट ९२ जनाले १७ लाख ७३ हजार र सोही वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७९ जना लाभग्राहीलाई ११ लाख ८४ हजार रुपैंया वितरण गरिएको नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । वृद्ध-वृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैंकका प्रबन्धक रिजाल आफै वडा-वडा पुग्नुभएको थियो ।

वृद्धभत्ता लिन पालो पर्खेर बसेका साकेला गाउँपालिका-२ रतन्छाका लाभग्राहीहरु ।

भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको बताउनुभयो ।

साकेलाले विगत तीन वर्षअघिदेखि सो भत्ता बैंक मार्फत वितरण गर्न थालेको हो । तर, गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

साकेला गाउँपालिका-४, मात्तिममा सञ्चालित भुक्तानी शिविरमा उपस्थित बैंकका कर्मचारी तथा लाभग्राहीहरु ।

साकेला गाउँपालिकामा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सङ्ख्या १ हजार ३३२ जना रहेका छन् । उनिहरुको लागि चालु आ.व. ०८०/०८१ को पहिलो त्रैमासिकमा १ करोड ३२ लाख ३० हजार ८७८ रुपैंया रकम निकासा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया