साकेला- करीव तीन सय विद्यार्थी अध्ययनरत खोटाङको साकेला गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा बन्न सुरु गरेको नयाँ भवनको शिलान्यास गरिएको छ । आज शुक्रबार साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले विधिवत रुपमा भवनको शिलान्यास गर्नुभएपछि विभिन्न भौतिक पूर्वाधार सहितको १२ कोठे पालिका भित्रकै उत्कृष्ट र नमूना विद्यालय भवन निर्माण सुरु भएको हो ।
निर्माण सुरु भएको ८ महिनामा भवन निर्माण गरेर हस्तान्तरण गरिसक्ने लक्ष्य अनुरुप हाल धमाधम निर्माणको काम भईरहेको छ । नेपाल अधिराज्यभरीबाट छनौट भएको ठूला विद्यालय योजना अन्तर्गत पाँच वटा विद्यालयहरु मध्ये साकेलाको सरस्वती माध्यमिक विद्यालय छनौट भएको थियो ।
लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहि सेवा निवृत्त हुनुभई ब्रिगेड गोर्खाकै ईतिहाँसमा पहिलो पल्ट स्थानीय तहको नेतृत्व सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको पहलमा उक्त आयोजना मार्फत सो विद्यालय छनौटमा परेको थियो ।
दुई सय नौ वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले आफू पहिलो पल्ट निर्वाचित भएको ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना उपलब्ध गराएको प्रति ब्रिटिश गोर्खा वेलफेयर, सिंगो गोर्खा वेलफेयर ट्रष्ट र भवन निर्माणको लागि पहल कदमी गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा र भवनको अभाव भईरहेको अवस्थामा ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगबाट विद्यालयको भवन निर्माण हुनु गाउँपालिकाको लागि ठूलो उपलब्धी भएको अध्यक्ष राईले स्मरण गर्नुभयो ।
कूल २ करोड ८५ लाख ५८ हजार १३३ रुपैंयामा निर्माण सम्पन्न हुने उक्त विद्यालय भवनमा समुदायको २८ लाख १५ हजार ९७३ रुपैंया जनश्रमदान जोडिनेछ ।
कक्षा १२ सम्म पढाई हुने उक्त विद्यालयको नयाँ भवन आगामी २०८२ असार १४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख छ । विद्यालयको पूर्वतर्फ रहेको लामो पुरानो विद्यालय भवन र सो अगाडिको दुई कोठे भवन भत्काएर उपलब्ध हुने ठाउँमा नयाँ भवन निर्माण भईरहेको सो विद्यालयका प्रधानाध्यापक शितल राईले बताउनुभयो । नयाँ विद्यालय भवनको साथमा पुरानो भवनहरुको मर्मत सँगै ६ कोठे अपाङ्ग र महिलामैत्री शौचालयको समेत निर्माण हुने जिडब्लुटी र विद्यालयबीच भएको सम्झौता पत्रमा उल्लेख छ ।
सोही आयोजना अन्तर्गत ६० जोर डेक्सबेञ्च, फोहोरमैला व्यवस्थापन गर्ने ठाउँ, पीउने पानीको धारा, खानेपानीको ट्याङ्कि लगायतको काम समेत सम्पन्न हुनेछ ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, गाउँपालिका प्रवक्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री न्यौपाने, १ नम्बर वडाका वडाध्यक्ष हेमन राई, पूर्व पालिका उपाध्यक्ष सरीता खड्का, राजनैतिक व्यक्तित्व गोपिकृष्ण खड्का, पूर्व ५ नम्बर वडाध्यक्ष बीरमल राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राई, विद्यालयका प्रअ शितल राई लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया