
साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले राजनैतिक अस्थिरताका कारण देश आर्थिक संकटमा फसेको बताउनुभएको छ । राजनैतिक पार्टीभित्रका कुनै व्यक्तिले सोही पार्टीभित्रको अर्को व्यक्ति र एउटा पार्टीले अर्को पार्टीलाई सिध्याउने खेल खेल्दा नेपाल देश आर्थिक संकटमा फसेको बताउनुभएको हो । उहाँले पार्टीभित्रका व्यक्ति र राजनैतिक दलहरुले आफु केन्द्रित नभई समग्र देशको आर्थतन्त्र कसरी बढाउन सकिन्छ भनेर सोच्ने बेला आएको टिप्पणी गर्नुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा शुक्रबार साकेला गाउँपालिकाको सभाहलमा भएको नियमित खोप कार्यक्रम तथा सुक्ष्म योजना अद्यावधिक गोष्ठिमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अध्यक्ष राईले देशको अर्थतन्त्र बढे देश बाँच्ने र देश बाँचेमात्र हामी नेपाली भएर बाँच्न सक्ने टिप्पणी गर्नुभयो । सरकारले वार्षिक १७ खर्वको बजेट बनाईरहँदा समग्र देशको आम्दानी दश खर्व मात्र हुनु विडम्वना भएको बताउनुहुँदै अध्यक्ष राईले आन्तरिक आम्दानी वृद्धि गर्ने नीति तथा कार्यक्रम ल्याउन सके मात्र देश समृद्धितर्फ अघि बढ्ने बताउनुभयो ।
यतिबेला वर्तमान राजनैतिक अस्थिरताको कारणले वाह्य ऋण खोजेर देश धान्नुपर्ने अवस्था आएको र देशको आर्थतन्त्र बढाउन हरेक स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले नयाँ विकल्प खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले देशको ७५३ स्थानीय सरकारमध्ये साकेला गाउँपालिका सरकार पृथक र भिन्न तरिकाबाट समृद्ध पालिका निर्माण गर्ने अभियानमा लागिरहेको बताउनुभएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै विकास र पर्यटनको माध्यमद्वारा समृद्ध पालिका बनाउने अभियानको सुरुवात भईरहेको उहाँको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङले साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुक्ष्म योजना अध्यावधिक सम्बन्धि तालिम प्रदान गरिरहेको छ । दुई दिन सम्म सञ्चालन हुने तालिममा दुवै स्थानीय तहका करीव ३५ जना स्वास्थ्यकर्मीहरु सहभागि रहेका छन् । तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाई लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया