
साकेला- जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि खोटाङको साकेला गाउँपालिकाले वडा वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको दोश्रो त्रैमासिक रकम वितरण सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक भत्ता समेत गाउँ गाउँ पुर्याएर प्रदान गरेको गाउँपालिकाले पुन: दोश्रो त्रैमासिकमा पनि आईतबारदेखि प्रत्येक वडामा शिविर आयोजना गरेर भत्ता रकम वितरण गर्न सुरु गरेको हो ।
बैङ्किङ प्रणाली मार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता यसअघिदेखि नै वडा वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँड्न सुरु गरेको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंक सम्म आएर भत्ता लिन नागरिकलाई असहज परिस्थिती हुने भएपछि लाभग्राहीलाई झण्झट र दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको बताउनुभयो । वडामा सञ्चालित शिविरमा गाउँपालिका स्थित सामाजिक सुरक्षा शाखा, नेपाल एसबिआई बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटाएर भत्ता वितरण गर्न सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउनुहुन्छ । जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको उहाँको भनाई छ । जनतालाई सहज रुपमा सरकारी सेवाको पहुँच पुर्याउन कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेत बैंङ्किङ सुविधा प्रदान गर्दै आईएको अध्यक्ष राईको भनाई छ ।
शिविरको पहिलो दिन आईतबार उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित रतन्छाको वडा कार्यालयमा भत्ता वितरण गरिएको छ । उक्त वडामा आयोजित शिविरमा एक सय आठ जना लाभग्राहीलाई १३ लाख २१ हजार रकम वितरण गरिएको छ । शिविरको दोश्रो दिन सोमबार वडा नम्बर १ को बाँझेच्यानडाँडास्थित वडा कार्यालय भवनमा आयोजना गरिएको शिविरमा ७५ जना लाभग्राहीहरुलाई आठ लाख ८२ हजार भत्ता रकम वितरण गरिएको नेपाल एसबिआई बैंकका प्रतिनिधि अनिल कुमार महतोले जानकारी दिनुभयो ।
साकेला गाउँपालिकामा चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकमा एक हजार तीन सय ३३ जना लाभग्राही भत्ता प्राप्त गर्न योग्य छन् । उनिहरुको लागि गाउँपालिकाले एक करोड ३४ लाख रुपैंया निकासा गरेको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।
लगातार छ दिन सम्म चल्ने शिविरको तश्रो दिन पौष २३ गते मंगलबार १ नम्बर वडा कार्यालयको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालय, पौष २४ गते बुधबार ३ नम्बर वडा कार्यालय खिदिमा, पौष २५ गते बिहीबार ४ नम्बर वडा कार्यालय मात्तिम र अन्तिम दिन पौष २६ गते ५ नम्बर वडा कार्यालय मात्तिमबिर्तामा पुगेर शिविर टुङ्गिने गाउँपालिकाले जनाएको छ ।
शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूको लागि भने नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया