श्रावण १३, २०८२ आइतबार

साकेलामा निर्माण भयो सुविधा सम्पन्न आकर्षक विद्यालय भवन (फोटो फिचर)

साकेला- करीव तीन सय विद्यार्थी अध्ययनरत खोटाङको साकेला गाउँपालिका-५ स्थित सरस्वती माध्यमिक विद्यालयमा ब्रिटिश गोर्खा वेलफेयरको सहयोगमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको मात्तिमबिर्तास्थित सरस्वती माविमा दुई करोडभन्दा बढी लगानीमा बालबालिकामैत्री, अपाङ्गतामैत्री एकैसाथ दुई वटा भवन, व्यवस्थित शौचालय तथा खानेपानी सुविधा सहितको संरचना निर्माण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग एवं विद्यालय र समुदायको सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । सरस्वती माविका लागि २ करोड ६५ लाख ९२ हजारको लागतमा एउटा आठ कोठे र एउटा चार कोठे भवन निर्माण गरिएको हो । ६ महिनामै निर्माण गरिएको भवन आज असार ४ गते गोर्खा वेल्फेयर ट्रष्टले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

नवनिर्मित भवन गोर्खा वेल्फेयर ट्रष्ट नेपाल एरिया वेल्फेयर सेन्टर, दिक्तेलका एरिया वेलफेयर अफिसर चित्रबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईलाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष रबिप्रकाश राई, उपाध्यक्ष बिर्सिका राई र वडा नं. ५ का वडाध्यक्ष तथा साकेला गाउँपालिका सरकारका प्रवक्ता जीवन खत्रीको रोहवरमा भवन हस्तान्तरण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रष्टले इंटा र सिमेन्टको गारोले बनेको, फलामको ट्रसमा जस्तापाताको छाना, प्लाइउडको फल्स सिलिङ, काठको झ्यालढोका हालिएको दुई तले दुई वटा भवन निर्माण गरिदिएको हो । भवन निर्माणका क्रममा गोर्खा वेल्फेयर ट्रष्टको २ करोड ३५ लाख ४४ हजार ३३३ र विद्यालयकातर्फबाट ३० लाख ४७ हजार ७१६ खर्च गरिएको छ ।

देशभरीमा बनाइएका पाँच वटा आयोजनामध्ये साकेलामा विद्यालयको भवन निर्माण गरिएको हो । लामो समयसम्म ब्रिटिश आर्मीमा कार्यरत रहि सेवा निवृत्त हुनुभई ब्रिगेड गोर्खाकै ईतिहाँसमा पहिलो पल्ट स्थानीय तहको नेतृत्व सम्हालिरहनु भएका गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको पहलमा उक्त आयोजना मार्फत सो विद्यालय छनौटमा परेको थियो ।

दुई सय नौ वर्षभन्दा पुरानो इतिहास बोकेको ब्रिटिश गोर्खामा आफूले समेत रगत र पसिना बगाएको स्मरण गर्नुहुँदै अध्यक्ष राईले आफू पहिलो पल्ट निर्वाचित भएको ठाउँमा सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना उपलब्ध गराएको प्रति ब्रिटिश गोर्खा वेलफेयर, सिंगो गोर्खा वेलफेयर ट्रष्ट र भवन निर्माणको लागि पहल कदमी गर्नुहुने सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

व्यवस्थित, सुविधायुक्त र पर्याप्त कक्षाकोठा र भवनको अभाव भईरहेको अवस्थामा ब्रिटिश गोर्खा वेलफेयरबाट प्राप्त अनुदान सहयोगबाट विद्यालयको भवन निर्माण हुनु गाउँपालिकाको समृद्धिको यात्रामा ठूलो उपलब्धी हाँसिल भएको अध्यक्ष  राईले टिप्पणी गर्नुभयो ।

भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, घेराबारा, चार कोठामा वालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, वालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले विद्यालयलाई फलामको ४० जोर डेस्कबेञ्च पनि उपलव्ध गराएको छ । गोर्खा वेल्फेयर ट्रष्टले सोही विद्यालयमा पहार ट्रष्ट नेपालसँगको सहकार्यमा लाइब्रेरी प्रोग्राम सञ्चालन गर्ने प्रधाध्यपक सितल राईले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया