साकेला- साकेला गाउँपालिकामा सञ्चालन भईरहेको जनश्रमदान अभियान शुक्रबार राती अबेर सम्म सञ्चालन गरिएको छ । गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा बिहानैदेखि सञ्चालन गरिएको श्रमदान अभियानमा वडाका जनप्रतिनिध, स्थानीय नागरिकहरु, कर्मचारीहरुले उत्साहित भएर श्रमदान दिएका छन् ।
लगातारको वर्षाका कारण सव-बेस सम्पन्न भईसकेको साप्सुखोला-मात्तिम-मानेभन्ज्याङ-पाँचधारे सडक बिग्रिएपछि श्रमदान अभियान सञ्चालन गरेर मर्मत गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । हप्तादिनअघिदेखि सञ्चालन भईरहेको श्रमदान मार्फत सब-वेस बगाएको स्थानमा ग्राभेल लगाएर पुर्ने, पहिरो झरेर पुरिएको नाली सफा गर्ने लगायतका कामका लागि स्थानीयहरु समेत उत्साहित भएर लागिरहेका छन् ।
सडक बिग्रिएका कारण सवारी साधन आवत-जावतमा समस्या भएपछि गाउँपालिकाले अघि सारेको ”आकस्मिक भौतिक पूर्वाधार निर्माण सेवा”को नीति अनुरुप सडक मर्मत कार्य गरिरहेको हो । श्रमदानसँगै गाउँपालिकामा उपलब्ध ब्याक-हो-लोडर र ट्याक्टरको समेत प्रयोग गर्ने गरिएको छ । करीव ३० किलोमिटर लामो उक्त सडक हालै मात्र सव-वेसको काम सम्पन्न भएर कालोपत्रेको चरणमा प्रवेश गरेको छ ।
वर्षाद् लागेसँगै ठाउँठाउँमा पहिरो झरेर नाली पुरेपछि पानी बीच सडकमा बग्दा करोडौं रुपैंया बराबरको क्षति भईसकेको छ । थप क्षति हुन नदिन गाउँपालिकाले आकस्मिक रुपमा जनश्रमदान जुटाई मर्मतको कार्यलाई निरन्तर अघि बढाईएको अध्यक्ष राई बताउनुहुन्छ । यो सँगै कात्तिके-सोस्तुङ-रतन्छा-नैनेपाटी सडक, बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ-काल्चिनखोला सडक सहित स्थानीय सडक तथा अन्य पूर्वाधारहरुको संरक्षणका लागि अभियान सञ्चालन गरेर श्रमदानको माध्यमद्वारा मर्मत गर्ने कार्यलाई निरन्तरता दिईने अध्यक्ष राईको भनाई छ ।
गाउँपालिका अध्यक्ष राईले रातसाँझ, सार्वजनिक विदा समेत नभनी महत्वपूर्ण समय प्रदान गरि जनश्रमदानमा जुट्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीलाई धन्यवाद प्रदान गर्नुभएको छ ।
प्रतिक्रिया