साकेला- लगातार श्रमदान अभियान चलाईरहेको साकेला गाउँपालिकाले आज आईतबार वडा नम्बर २ स्थित साकेला पार्कको सरसफाई गरेको छ । वडा कार्यालय रतन्छाको पहलमा यहाँको साकेला पार्क र थान सरसफाई गरिएको हो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीहरुको सहभागितामा पार्क सरसफाई गरिएको हो ।
गाउँपालिकाद्वारा सञ्चालित पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत वडा कार्यालयको आयोजनामा सरसफाईको कार्यक्रम चलाईएको पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेतले जानकारी दिनुभयो । दशैँ लगायतका चाडबाड नजिकिँदै गर्दा गाउँघरमा रहेका पार्क, गोरेटोबाटो, पाटीपौवा, सडक तथा बजार सरसफाई गर्न सुरु गरिए सँगै गाउँघरमा चाडवाडको रौनकता सुरु भईसकेको छ ।
त्यसो त गाउँपालिकाले यसअघि पनि गोरेटो बाटो तथा सडक सरसफाईको कामलाई निरन्तर अघि बढाउँदै आएको छ । किराँत राईहरुको प्रमुख देवस्थल रहेको साकेला थान र सो सँगै निर्माण गरिएको पार्क वरपर फैलिएका झाडी फडाँनी गर्नुका साथै फोहरमैला व्यवस्थापनको कार्य सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउन आफूहरु प्रयत्नशिल रहेको बताउनुहुँदै अध्यक्ष राईले सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको प्रति आभार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष राईले भन्नुभयो- पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय लाग्दैन । जनश्रमदान मार्फत नै पालिकाभित्रका विभिन्न सडकहरु मर्मत सम्हार गरेर हिउँद वर्षा टोलटोल सम्म सवारी साधन पुग्न सक्ने बनाउने अभियानमा आफूहरु रहेको अध्यक्ष राईले बताउनुभएको छ ।
साकेला गाउँपालिकाले पूर्ण सरसफाईको अभियानलाई सफल बनाउनका लागि नियमित रुपमा बजार, सडक, सार्वजनिकस्थल, विद्यालय तथा कार्यालय परिसरमा सरसफाईको कार्य नियमित गर्दै आएको छ । पालिकालाई सुन्दर र सफा राख्न हरेक स्थानमा कुहिने, नकुहिने र शिसाजन्य फोहोर सङ्कलन गर्नका लागि डष्टविनको समेत प्रयोग गर्दै आएको छ । अन्य स्थानीय तह र अन्य स्थानको बजारक्षेत्र भन्दा साकेला गाउँपालिकाको हरेक टोल तथा वस्ती र सडकहरु सफा र देशकै नमूना भएको जानकारहरु बताउँछन् । साकेला गाउँपालिकाले सुरुवात गरेको सरसफाईको अभियान प्रभावकारी बन्दै गएको उनिहरुको भनाई छ ।
प्रतिक्रिया