असोज २७, २०८२ सोमबार

सडकको अवरोध खुलाउन गाउँपालिकाद्वारा पहिरो पन्छाउन सुरु

साकेला- गत असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण झरेको पहिरोले अवरुद्ध बनेको सडक खुलाउन साकेला गाउँपालिकाले सुरु गरेको छ । पालिकाभित्रका मुख्य तथा सहायक सडकहरुमा झरेको अनगिन्ती पहिरोका कारण आफ्ना नागरिकलाई आवागमनमा समस्या भएपछि गाउँपालिकाले आकस्मिक पूर्वाधार सेवा अन्तर्गत आज बुधबारदेखि पहिरो हटाउन सुरु गरेको हो ।

गाउँपालिकाको आफ्नै जेसिवि मेसिन सहित अन्य थप मेसिन झिकाएर पहिरो हटाउने काम सुरु गरेको हो । पहिरोले सडक अवरुद्ध भएर सवारी आवागमनमा समस्या बनेको मुख्य सडकहरुको पहिरो तत्कालका लागि हटाएपछि भित्री शाखा सडकहरुमा भएको पहिरो हटाउने पालिकाले तयारी गरेको छ ।

पालिकाभित्रका सबै सडकहरुमा भएको पहिरो पन्छाएपछि थप स्तरोन्नती र मर्मतको कार्य प्रारम्भ गरिने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । हामी पालिकाबासी नागरिकहरुलाई सबै प्रकारको सेवा र सुविधाको पहुँचमा राख्ने प्रयत्नमा छौं तर यो विपदको समयमा भनेकै समयमा उक्त कार्य सम्पन्न गर्न नसकिएला, अध्यक्ष राईले भन्नुभयो- यो बेला साकेलाबासी नागरिकले समेत साथ दिन जरुरी छ । थुप्रै बाटोघाटो बिग्रिएको र नागरिकको घरहरुमा समेत क्षति भएकाले पालिका सरकारले यो समय संवेदनशिल बनेर प्राथमिकताका साथ काम अघि बढाउने उहाँले बताउनुभयो ।

लगातारको वर्षाका कारण साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे सडकमा सबैभन्दा बढी क्षति भएको गाउँपालिकाले जनाएको छ । उक्त सडकको डिगेम्पाडाँडा, चुम्लुङ, कात्तिके लगायतका स्थानमा झरेको पहिरो र नालीबाट बगेको पानीले ग्याविन जाली बगाएको तथा सडकको ग्राभेल बिगारेर ठूलो क्षति पुर्याएको छ ।

त्यस्तै मानेभन्ज्याङ-पुङमा सडक, मानेभन्ज्याङ-तावाभन्ज्याङ सडक, मानेभन्ज्याङ-रतन्छा सडक, कात्तिके-सोस्तुङ-नैनेपाटी सडक लगायत शाखा सडकहरुमा स-साना पहिरोका कारण सडक अवरुद्व बनेको पालिकाले जनाएको छ । तत्कालका लागि मानेभन्ज्याङ-रतन्छा र मानेभन्ज्याङ-पुङमा-काल्चिनखोला सडकमा झरेको पहिरो पन्छाउन दुईवटा जेसिवि मेसिन परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । क्रमश पालिकाभित्रका सबै सडकमा झरेको पहिरो पन्छाउने काममा गाउँपालिका तिव्रगतिमा लागि परेको छ । वर्षाका कारण पालिकाभित्र भएको क्षतिको संकलन गर्नका लागि पालिकाका प्राविधिक टोली, अन्य कर्मचारी, नेपाल प्रहरी निरन्तर खटिईरहेका छन् भने गाउँपालिका अध्यक्ष राई सहित उपाध्यक्ष बिर्सिका राई समेत क्षतिको विवरणका लागि निरन्तर अनुगमनमा खटिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया