पुष ८, २०८२ मंगलबार

अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

खोटाङ । साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री हस्तान्तरण तथा प्राविधिक सेवा उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक सामग्री हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिहरूको प्राविधिक टोलीको उपस्थितिमा विभिन्न कारणबाट अपाङ्गता भएका साकेला गाउँपालिकाभित्रका १५ जना व्यक्तिहरूका लागि अर्थोपेडिक जुत्ता निर्माण गर्न खुट्टाको नापजाँच लिईएको छ। यस सेवाले अपाङ्गता भएका नागरिकहरूको दैनिक आवत–जावत र जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सोही अवसरमा गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ४ का ९ वर्षिय युवराज कटवाल र वडा नम्बर ५ का १० वर्षिय इजन खत्रीलाई सहायक सामग्री ह्वीलचियर हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईसहित जनप्रतिनिधि, कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले अपाङ्गता कुनै कमजोरी नभई समाजले अवसर दिन नसक्दा उत्पन्न हुने अवस्था भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने जिम्मेवारी राज्य र स्थानीय सरकारको हो। साकेला गाउँपालिका अपाङ्गता भएका नागरिकहरूको अधिकार, सम्मान र समावेशी विकासका लागि प्रतिबद्ध छ।”

अध्यक्ष राईले आगामी दिनमा पनि अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सहायक सामग्रीमा निरन्तर सहयोग गरिने स्पष्ट पार्नुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले अपाङ्गता भएका बालबालिका तथा नागरिकहरूमा आत्मविश्वास बढाउन सहयोग पुग्नेछ।

गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले समेत अपाङ्गता भएका नागरिकहरूलाई समाजको मूलधारमा ल्याउन सबैको साझा भूमिका आवश्यक रहेको बताउँदै स्थानीय तहबाट सम्भव सबै सहयोग निरन्तर गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साकेला गाउँपालिकाले अपाङ्गता मैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्यसहित यस प्रकारका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको जनाएको छ। साकेला गाउँपालिकामा पालिका सहित सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता भएका नागरिकहरुको जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया