पुष १४, २०८२ सोमबार

साकेलामा निरन्तर ‘श्रम साकेला अभियान’

साकेला- साकेला गाउँपालिकाले सञ्चालन गरिरहेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नम्बर ३ खिदिमास्थित मानेभन्ज्याङ–पाँचधारे सडक खण्डमा व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। साविक खिदिमा गाविस वडा नम्बर ६ ढाँडे टोलका २१ जना स्थानीयवासीको सक्रिय सहभागितामा करिब दुई किलोमिटर सडक क्षेत्र सरसफाइ गरिएको हो ।

सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीहरूले सडक साँगुरो भई आवागमनमा कठिनाइ उत्पन्न भएको निष्कर्षसहित स्थानीयवासीहरू स्वस्फूर्त रूपमा एकजुट भई जनश्रमदानमा जुटेका हुन् । पूर्ण सरसफाइ कार्यक्रमका उत्प्रेरक नवीन श्रेष्ठका अनुसार, स्थानीयको एकताबद्ध सहभागिताले सडकलाई व्यवस्थित र सुरक्षित बनाइएको छ।

स्थानीय नागरिकहरूले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन्। विशेषगरी वडा नम्बर ३ खिदिमाका नागरिकहरूले “आफ्नो गाउँ आफैं बनाऔँ” भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन्।

जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक सहभागिता रहँदै आएको छ। वडा नम्बर ३ अन्तर्गत साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हात्तिसुँडे, कोक्रा लगायतका विभिन्न टोलहरूमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ। बाँकी टोलहरूमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो।

यस अवसरमा साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले वडा नम्बर ३ लाई सबैभन्दा बढी जनश्रमदान गर्ने वडा भएको उल्लेख गर्दै स्थानीयवासीहरूको योगदान उदाहरणीय भएको बताउनुभयो।

“हामी जनप्रतिनिधि भएर आएदेखि नै हरेक वडामा प्रत्येक महिना कम्तीमा दुई दिन जनश्रमदान जुटाएर विकासका कार्य गर्नुपर्ने नीतिगत निर्णय गरेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यस अभियानलाई स्थानीय नागरिकहरूले निरन्तर साथ दिइरहनु भएको छ, जुन अत्यन्तै सकारात्मक पक्ष हो।” स्थानीय तह, जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट सञ्चालन भइरहेको ‘श्रम साकेला अभियान’ साकेला गाउँपालिकामा विकास, सरसफाइ र सामुदायिक एकताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

उता, वडा नम्बर १ का जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाई गरिनुका साथै सडकको नाली सरसफाई गरिएको पूर्ण सरसफाई कार्यक्रम उत्प्रेरक पुष्पा राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया