चैत्र २७, २०८२ शुक्रबार

सरसफाई र सौन्दर्यकरणमा साकेला अग्रणी : समन्वय समितिले गर्यो सम्मान

खोटाङ । पूर्ण सरसफाई, फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणमार्फत गाउँपालिकालाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने अभियानमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै साकेला गाउँपालिका सम्मानित भएको छ । जिल्ला समन्वय समिति खोटाङले दशौँ जिल्ला सभाको अवसर पारेर गाउँपालिकालाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरेको हो ।

साकेला गाउँपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा फरक र नमुना ढंगबाट फोहरमैला व्यवस्थापन, सरसफाई तथा सार्वजनिक स्थलहरूको सौन्दर्यकरण गर्दै आएको छ । “श्रम साकेला अभियान”लाई आधार बनाएर जनश्रमदानमार्फत सडक, बस्ती र सार्वजनिक क्षेत्रलाई सफा र व्यवस्थित बनाउने अभ्यासले गाउँपालिकालाई विशिष्ट पहिचान दिलाएको छ ।

गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रलाई पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा विकास गरिएको छ । यहाँ स्काईवाक, आकर्षक फोटो फ्रेम, स्वागत गेट तथा आधुनिक बसस्टपहरू निर्माण गरिएको छ, जसले प्रवेश गर्ने आगन्तुकलाई नै छुट्टै अनुभूति गराउने गरेको छ ।

यसका साथै, गाउँपालिकाभित्र बसोबास गर्ने १३ जातजातिको सांस्कृतिक स्वागत र चार धर्मावलम्बीको आशीर्वाद झल्किने चित्रकला सार्वजनिक स्थलहरूमा कुँदिएको छ । यस्ता चित्रकलाले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् ।

गाउँपालिकाले विभिन्न पर्यटकीय स्थलहरूको पहिचान झल्काउने चित्रकला, पार्क तथा सार्वजनिक स्थानहरूको सौन्दर्यकरण, तथा पर्यटकमैत्री पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन तीन प्रकारका वर्गीकृत डस्टबिनको व्यवस्था गरिएको छ भने पार्क तथा सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

यस्तै, गाउँपालिकाभित्रका सिमाना तथा भित्री–बाहिरी सडकहरूमा दिशानिर्देश बोर्ड (डाइरेक्सन साइन) जडान गरी आवागमनलाई सहज र व्यवस्थित बनाइएको छ । यी सबै प्रयासहरूले साकेला गाउँपालिकालाई सफा, सुन्दर र पर्यटकीय सम्भावना बोकेको नमुना स्थानीय तहका रूपमा स्थापित गर्दै लगेको देखिन्छ ।

स्थानीयवासी तथा सरोकारवालाहरूले गाउँपालिकाको यस पहललाई दीर्घकालीन विकास र वातावरण संरक्षणतर्फको सकारात्मक कदमका रूपमा लिएका छन् । सरसफाई, सौन्दर्यकरण र सांस्कृतिक प्रवर्द्धनलाई एकैसाथ अघि बढाउने साकेलाको अभ्यासले अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।

साकेला गाउँपालिका सहित समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई जैविक विविधता, जलवायु अनुकुलनमा स्थानीय श्रोतको परिचालन र पर्यटन प्रवर्द्धन गरेकामा सम्मान गरेको छ । महिला सशक्तिकरण तथा बालिका संरक्षण कार्यक्रम गरेकोमा हलेसी तुवाचुङ नगरपालिकालाई, स्थानीय आर्थिक विकास मुल्याङकनमा ७५ अंक, संस्थागत ब्लग स्तरीय कृषि उत्पादन र आवासीय विद्यालय सञ्चालन गरेकामा जन्तेढुंगा गाउँपालिका, सरसफाई तथा फोहोरमैला व्यवस्थापन गरी वातावरणीय सन्तुलन गरेकामा साकेला गाउँपालिका र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा ९९.७५ अंक, स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङकनमा ९८.८५ अंक ल्याएकामा रावाबेशी गाउँपालिकालाई सम्मान गरिएको जानकारी दिएको छ।

बुहारी शिक्षा र प्राविधिक शिक्षामा जोड दिएकामा केपिलासगढी गाउँपालिका, आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी राजश्व दाखिला गर्ने दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालय, खेलकुद तथा सामाजिक सेवा गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सन्जयकुमार राई र सोल्माका ध्रुवविक्रम राई, स्थानीय कच्चा पदार्थको प्रयोगमा आधारित उद्योग सञ्चालन गर्ने ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका जयनारायण राईलाई सम्मान गरिएको छ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा २५ वर्ष स्वास्थ्य सेवा गर्ने सिअहेव राजकिशोर शाह, सक्रिय पत्रकार दिलीप खत्री, कोशी प्रदेशकै सबैभन्दा लामो जन्तेढुंगा गाउँपालिका र वराहपोखरी गाउँपालिका जोड्ने बुँवाखोलामा १४८.४० मिटर लामो सडक पुल वर्षदिनमा निर्माण सम्पन्न गर्ने उदयपुर त्रियुगा नगरपालिका–१ त्रियुगाका जय बागेश्वरी रेग्मी–चुरिया जेभीका प्रोपाइटर महेश रेग्मी, निर्माण व्यवसायी क्षेत्रमा उल्लेखनीय योगदान गर्ने दिक्तेलका जोसेफ रिजाल सम्मानित भएका छन्।

सामाजिक सेवा तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने एरिया वेलफेयर अफिस गोर्खा वेलफेयर ट्रष्ट, खेलक्षेत्रमा योगदान गर्ने दिक्तेलका रोशेस श्रेष्ठ, अगुवा कृषक लफ्याङकी सरला राई, दिक्तेलका जिवनाथ आचार्य र कृषि, शिक्षा,वन वातावरण, पर्या–पर्यटन स्वरोजगार क्षेत्रमा योगदान गर्ने शुभद्रा–मदन फाउन्डेसनलाई सम्मान गरिएको जिसस प्रमुख सन बहादुर राईले बताउनुभयो। सम्मानित व्यक्ति तथा संस्थालाई प्रतिनिधिसभा सदस्य आरेन राईले दोसल्ला ओढाइ सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया